महेश बस्नेत आक्रामक: जेन–जी भनेका सबै आतंककारी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेत जेन–जी प्रदर्शन र उत्पन्न परिस्थितिप्रति आक्रामक भएका छन्। बस्नेतले विगतदेखि अहिलेसम्मको घटनाक्रम हेर्दा जेन–जी समूह आतंककारी भएको बताए।
उनले भने, ‘जेनजी आतंककारी हो। हिजो वाइसिएल आतंककारी थियो, आज जेनजी। बैंक लुट्ने, ठग्ने जेनजी आतंककारी नै हो। हिजो माओवादीले १० वर्षमा गरेको विध्वंश आज जेनजीका नाममा दुई दिनमै भयो।’
बस्नेतले नवयुवालाई देशप्रेम गर्ने भए पनि जेनजी नाम लिएर हिंसा गर्ने सबैलाई आतंककारी ठहराए। ‘हाम्रा साथीहरू भन्छन् जेनजी आतंककारी होइन। तर म पटक–पटक भन्छु, जसले सिंहदरबार जलाए, संसद् भवन जलाए र निजी सम्पत्ति तोडफोड गरे, उनीहरू आतंककारी हुन्,’ उनले बताए।
उनले टोल–टोलमा सुरक्षा समिति बनाएर समाजको सुरक्षा आफैं सुनिश्चित गर्नुपर्ने बताउँदै एमालेका युवा पुस्तालाई अग्रसर हुन निर्देशन दिए। ‘टिकटक र रिल बनाउनेहरू अहिले मेटिन थालेका छन्। तिनीहरूलाई समातेर कारबाही गर्नुपर्छ। उपत्यकाका धेरै प्रहरी चौकी ध्वस्त भएका छन्। ती चौकीको पुनर्निर्माणको काम पार्टी र पार्टीका युवा संगठनको नेतृत्वमा अघि बढाउनुपर्छ। यसको थालनी आजैदेखि सुरु भयो,’ बस्नेतले बताए।
सामाजिक सञ्जालमा आफू लुकेको भन्ने गलत सूचना फैलिएको उल्लेख गर्दै बस्नेतले अहिले भक्तपुर बालकोटमा रहेको र आवश्यक परे मुकाविला गर्न आउने चेतावनी दिएका छन्।


Facebook Comment