असोज १ देखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने
काठमाडौं । यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालनमा ल्याइने भएको छ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्यतिर पुगेको अवस्था र आगामी दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै सडक निरन्तर सञ्चालन गर्ने निर्णय गरेको हो। यात्रुको सहजतालाई प्राथमिकता दिँदै स्वीकृत सडक सुरक्षा कार्ययोजना अनुसार सतर्कता अपनाएरै सडक खुला गर्ने समितिले जनाएको छ।
कार्यालयका अनुसार गत असार पहिलो सातादेखि रातिको समयमा १२ घण्टासम्म सवारीसाधन आवतजावतमा रोक लगाइएको थियो। विशेषगरी काभ्रेपलाञ्चोकको धुलिखेलदेखि सिन्धुलीको नेपाल थोकसम्म बाढी–पहिरोको जोखिम उच्च देखिएपछि राति यातायात बन्द गरिएको हो। पछिल्लो पटक भदौ १६ गतेदेखि थप १५ दिन रोक लगाइएकोमा अब असोज १ गतेदेखि पूर्ण रूपमा खोलिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डमा रहेका विभिन्न जोखिमयुक्त स्थानका कारण यसअघि यात्रुहरूलाई वैकल्पिक रूपमा काभ्रेभञ्ज्याङ र नेपाल थोकमा रोक्ने व्यवस्था गरिएको थियो।
गत वर्ष असोजमा आएको बाढी–पहिरोले राजमार्गको काभ्रेपलाञ्चोकदेखि सिन्धुलीसम्मका धेरै भागमा क्षति पुर्याएको थियो। चौकी डाँडादेखि वर्षे खोलासम्मको सडक बगाउँदा सवारी आवागमनमा ठूलो अवरोध भएको थियो। राजमार्गको क्षतिग्रस्त खण्डलाई चार भागमा विभाजन गरी स्थायी पुनर्निर्माणको प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।
पूर्वी नेपाललाई छोटो दूरीमार्फत काठमाडौंसँग जोड्ने बिपी राजमार्गमा दैनिक हजारौँ सवारीसाधन सञ्चालन हुने भएकाले यसको २४ सै घण्टा सञ्चालन यात्रुहरूका लागि सहज हुने अपेक्षा गरिएको छ।


Facebook Comment