असोज १ मा राष्ट्रिय शोक दिवस, जेनजी सहिदलाई राज्य सम्मान
काठमाडौं । सरकारले आउँदो असोज १ गते (बुधबार) शोक दिवसका रूपमा मनाउने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको हो। सो दिन सार्वजनिक बिदा दिइने पनि बैठकले तय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार सहिद घोषणा गरिएका परिवारलाई राहतस्वरूप १५ लाख रुपैयाँ प्रदान गरिनेछ। यसअघि १० लाख दिने घोषणा गरिएकोमा थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो।
बैठकले आन्दोलनका घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णयसमेत गरेको छ। साथै, सहिद युवाको सम्झनामा ‘जेन–जी स्मारक पार्क’ निर्माण गर्ने र आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष स्थापना गर्ने निर्णय पनि गरिएको छ।
यसैबीच, प्रहरी प्रधान कार्यालयले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ राहत दिने जनाएको छ। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार उक्त रकम प्रहरी प्रमुखदेखि निरीक्षकसम्मको तलब कट्टा गरेर उपलब्ध गराइनेछ।


Facebook Comment