यस वर्ष दसैँ तिहारमा अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रुले सहजै तीन चार दिनअघि टिकट पाउन सक्ने

काठमाडौं । आगामी दसैँ तिहारका लागि राजधानीबाट जिल्लातर्फ जाने यात्रुका लागि छुट्टै अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णय भएको छ। भदौ ३१ गते मीनभवनस्थित यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकायहरूको बैठकले यात्रु घर फर्कन सुरु भइसकेकाले यसपटक विशेष अग्रिम टिकट खुलाउन आवश्यक नदेखिएको जनाएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार, हालै ‘जेनजी’ आन्दोलनका कारण विश्वविद्यालय र कलेजहरू लामो बिदा भएका कारण विद्यार्थी तथा सर्वसाधारण घर फर्किसकेका छन्। ‘गोंगबु बसपार्कबाट मात्रै करिब ५० हजार मानिस बाहिरिसकेको तथ्यांक हामीसँग छ। त्यसैले अग्रिम टिकट खोल्नुपर्ने अवस्था छैन,’स्वाँरले भने।

उनका अनुसार यात्रुहरूले दसैँमा घर फर्कन तीन चार दिनअघि नै टिकट लिन सक्ने सुविधा हुनेछ। ‘भीड गरेर एकैचोटि टिकट लिनुपर्ने अवस्था छैन। यात्रा गर्ने मितिभन्दा केही दिनअघि सहजै टिकट लिन सकिन्छ,’ स्वाँरको भनाइ छ।

सडकका कतिपय स्थान बिग्रिएकाले त्यसको मर्मतमा सम्बन्धित निकाय लागिपरेको र यात्रु दबाबलाई व्यवस्थापन गर्न पर्याप्त गाडी उपलब्ध गराइने स्वाँरले जानकारी दिए। आवश्यक परे काठमाडौं भित्रका स्थानीय बसहरू समेत जिल्लातर्फ पठाइने व्यवस्था मिलाइने भएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले चाडपर्वमा यात्रु सहजै गन्तव्यसम्म पुग्न सक्ने गरी योजना बनाइएको उल्लेख गरे। ‘यात्रुहरूलाई असहज हुने कुनै कमी हामी हुन दिने छैनौँ,’ पोखरेलले भने।

यसैबीच, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले यात्रुलाई ठग्ने, टिकटमा अनावश्यक शुल्क लिने वा धोका दिनेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिए। ‘यात्रुलाई सुरक्षित र सहज यात्रा गराउने उद्देश्य नै हाम्रो हो। यसलाई अवसर मानेर ठग्न खोज्नेहरूसँग प्रहरीले कडाइका साथ व्यवहार गर्नेछ,’उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *