राष्ट्रवादी युवाको बलिदान स्मरण गर्दै पाठकको राजीनामा
काठमाडौं । बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिएका छन्।
बुधबार उनले उपसभामुखलाई सम्बोधन गर्दै संविधान तथा प्रदेश सभा नियमावली, २०७४ बमोजिम राजीनामा पत्र बुझाएका हुन्। यसअघि भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका भए पनि आधिकारिक पत्र भने पेस गरेका थिएनन्।
पाठकको राजीनामा पत्र प्रदेश प्रमुख, मुख्यमन्त्री तथा प्रदेश सभा सचिवालयलाई समेत पठाइएको छ। यससँगै बागमती प्रदेश सभामा सभामुख पद खाली भएको छ र नयाँ सभामुख चयन प्रक्रिया सुरु हुने भएको छ।
उनले राजीनामामा जेनजी आन्दोलनका क्रममा भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग हुँदा राष्ट्रवादी युवाले ज्यान गुमाउनुपरेको घटनाले आफूलाई गहिरो भावनात्मक आघात पुगेको उल्लेख गरेका छन्।
जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहन उचित नठानेर राजीनामा दिएको स्पष्ट पारेका छन्।
२०७९ पुस २८ गते भएको सभामुख निर्वाचनमा पाठकले ६२ मत प्राप्त गर्दै सभामुख बनेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट उम्मेदवार बनेका उनलाई नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन गरेका थिए।


Facebook Comment