देउवा निवासमा पैसा भेटिएको दाबी असत्य : सचिवालयको प्रष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको दाबी सत्य नभएको प्रष्ट पारेको छ।

भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका क्रममा देउवा निवासमा भएको आक्रमणपश्चात सामाजिक सञ्जालमा पैसाको सुरुङ भेटिएको भन्दै भिडियो र फोटोहरू सार्वजनिक भए। तर सचिवालयले असोज २ गते विज्ञप्ति जारी गर्दै यसलाई कपोकल्पित र पार्टी नेतृत्वलाई बदनाम गर्ने उद्देश्यले फैलाइएको भ्रामक समाचार भएको स्पष्ट पारेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाले भने, “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुङ रहेको जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तिमा थप भनिएको छ, सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र दुसित मनसायले फैलाइएका भ्रामक समाचार हुन्। घरभित्र रहेको अन्डरग्राउन्ड ट्याङ्कीलाई पानी राख्नका लागि प्रयोग भएको दाबी पनि गरिएको छ।

सचिवालयले प्रविधिको गलत प्रयोग गरेर विभिन्न समयका जलेका नोटका दृश्यहरू सम्पादन गरी युट्युब र सामाजिक सञ्जालमा प्रचार गरिएको उल्लेख गर्दै यसमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ।

सभापति देउवाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, देउवा दम्पति र कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको आक्रमणको कडा भत्सना गरिएको छ।

भदौ २४ गते बूढानीलकण्ठस्थित देउवा निवासमा जेनजी आन्दोलनको नाममा युवाहरूले तोडफोड र कुटपिट गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *