आगजनीबीच स्मार्ट लाइसेन्सको डेटा सुरक्षित, सेवा पुनः सुरु हुने तयारी
काठमाडौं । जेनजी आन्दोलनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी हुँदा ठूलो क्षति पुगे पनि स्मार्ट लाइसेन्ससम्बन्धी डेटा भने सुरक्षित रहेको विभागका कर्मचारीहरूले बताएका छन् । उनका अनुसार ब्याकअपमा रहेको डेटा रिकभर गरेर छिट्टै सेवाप्रवाह पुनः सुरु गर्न सकिने अवस्था छ ।
भदौ २३ र २४ गते चर्किएको आन्दोलनका क्रममा संसद् भवनको पूर्वपट्टि रहेको विभाग कार्यालयमा आगजनी भएको थियो । आगलागीबाट इम्बोस्ड नम्बरका सम्पूर्ण डेटा, स्मार्ट लाइसेन्स छाप्ने मेसिन र छापिसकिएका १२ लाख स्मार्ट लाइसेन्समध्ये करिब ६ लाख थान नष्ट भएका थिए । तर वितरणका लागि तयारी अवस्थामा रहेका बाँकी ६ लाख थान स्मार्ट लाइसेन्स भने सुरक्षित रहेको पाइएको छ ।
शुक्रबार बिहान विभाग परिसरमा भएको सरसफाइ कार्यक्रममा सहभागी भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई कर्मचारीहरूले स्मार्ट लाइसेन्सका डेटा सुरक्षित रहेको र रिकभर गर्न सकिने अवस्था रहेको जानकारी दिएका थिए ।

सो अवसरमा मन्त्री घिसिङले अत्यावश्यक अवस्थामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर लाइसेन्स छाप्ने व्यवस्था मिलाइने बताए ।
‘राष्ट्रिय परिचयपत्र छाप्ने मेसिनबाट पनि स्मार्ट लाइसेन्स छाप्न सकिन्छ भन्ने जानकारी आएको छ,’ मन्त्री घिसिङले भने, ‘विदेश जानेलाई तत्काल लाइसेन्स आवश्यक परेमा सोही विभागमार्फत सुविधा उपलब्ध गराइनेछ ।’
यातायात व्यवस्था विभागका अनुसार अझै करिब २५ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी छ । त्यसका लागि आवश्यक सामग्री खरिद गर्न छिट्टै टेन्डर आह्वान गरिने तयारी भइरहेको विभागले जनाएको छ ।


Facebook Comment