पानीमार्फत फैलिने अमीबाले केरलामा बढायो मृत्यु दर

काठमाडौं। भारतको केरला राज्यमा ‘ब्रेन–इटिङ अमीबा’को संक्रमण फैलिँदा हालसम्म १८ जनाको ज्यान गइसकेको छ । सेप्टेम्बर महिनाको अन्त्यसम्मको तथ्यांकअनुसार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

विपक्षी दल युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले केरला सरकारले महामारीजस्तो फैलिएको रोग नियन्त्रणमा आवश्यक वैज्ञानिक कदम नचालेको आरोप लगाएको छ । विधानसभामा बोल्दै आईयूएमलका नेता एन. मशम्सुद्दीनले यो संक्रमण कोल्लम, मलम्पुरम, त्रिशूर र पालक्कडलगायत जिल्लामा तीव्र गतिमा फैलिएको बताए ।

तर, केरला सरकारले भने स्वास्थ्य विभागमार्फत यो रोगलाई अत्यन्त गम्भीरताका साथ नियालिएको दाबी गरेको छ । विधायक टीआई मधुसूदननले मुख्यमन्त्री पिनराई विजय नेतृत्वको सरकारले सार्वजनिक स्वास्थ्यलाई उच्च प्राथमिकता दिएको बताए ।

यो रोगलाई चिकित्सकीय भाषामा प्राइमरी अमिविक मेनिन्गो–इन्सेफलाइटिस (PAM) भनिन्छ । यसको मुख्य कारण निग्लेरिया फावलेरी नामक अमीबा हो । प्रायः दूषित पोखरी वा स्वीमिङ पूलमा पौडी खेल्दा यो अमीबा नाकमार्फत शरीरमा पस्छ र त्यसपछि दिमागमा पुगेर मस्तिष्क नष्ट गर्छ ।

विशेषज्ञका अनुसार संक्रमण भएमा मृत्युदर करिब २३ प्रतिशत छ । तर, प्रारम्भिक २४ घण्टाभित्रै रोग पहिचान भई उचित उपचार गर्न सके बिरामी निको हुन सक्छ ।

यसका लक्षणहरूमा उच्च ज्वरो, टाउको र घाँटीमा असह्य पीडा, बेहोस हुने अवस्था आदि देखिन्छ । चिकित्सकहरूले दूषित पानीमा पौडी नखेल्न, पौडी खेल्दा नाक–मुखमा पानी नपस्ने गरी मास्क वा चश्माको प्रयोग गर्न, साथै स्वीमिङ पूलमा नियमित क्लोरिन प्रयोग गर्न सुझाव दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *