सांसद नेम्वाङले माफी मागे : ‘कमजोरी र नालायकीको जिम्मेवारी मेरो हो’
काठमाडौं । प्रतिनिधि सभाका निवर्तमान सांसद सुहाङ नेम्वाङले शुक्रबार माफी मागेका छन्। विज्ञप्तिमार्फत् नेम्वाङले आफू सक्रिय राजनीतिमा आएर दुई वर्ष बिताएको उल्लेख गर्दै, हालको अवस्था निर्माणमा आफ्नो भागमा पर्ने कमजोरी र नालायकीको जिम्मेवारी आफूले लिनुपर्ने बताए।
उनले भने, ‘मैले फर्केर हेरेँ, म पनि सक्रिय राजनीतिमा करिब दुई वर्ष भएछ। अति आदरणीय इलामेली जनताको प्रतिनिधिको रूपमा झन्डै डेढ वर्ष काम गर्ने अवसर पाएँ। त्यस हिसाबले यो अवस्था निर्माणमा मेरो पनि अलिकति भूमिका रह्यो होला। यदि रह्यो भने मेरो भागमा कति पर्छ, कुन्नि। यो कमजोरी र नालायकीप्रति म माफी माग्छु। गल्तीहरू नेतृत्वमा बस्नेहरूबाटै हुन्छन्। आत्मालोचना र स्वीकारोक्ति जरुरी छ। जनतालाई माफी मागेर सच्चिने प्रण गर्नु नै हाम्रो महानता हो।’
नेम्वाङले भदौ २३ र २४ गतेको घटनामा जिम्मेवारी ठहर्याउँदै जेनजी आन्दोलनको आलोचना गर्नु आफ्नै सन्ततिलाई गाली गर्नु सरह हुने बताए। उनले सबैलाई आवेग, उत्तेजना र प्रतिशोध त्याग्न आग्रह गर्दै इतिहासको घाउको पुनःउद्घाटन नगर्न अपिल गरे।
उनले थपे, ‘फेरि पनि कहीँ कतैबाट आवेग र उत्तेजनाहरू सुनिनु गलत हुनेछ। २४ गतेको घटनासर्वथा गलत थियो। आन्दोलनमा घुसपैठ भयो भन्ने निष्कर्षमा जेनजीका अगुवाहरू आफैं पुगिसकेका छन्। यस अवस्थामा आफ्नै आचारसहिता र आदर्श बनाएर सडकमा आएका जेन–जीहरूलाई उत्तेजक आरोप लगाउनु आफ्नै सन्ततिलाई गाली गर्नु हो। आफ्नै सन्ततिलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्न सक्दैनन्।’
उथलपुथलकारी दिनहरूपछि नेपालीहरू सामान्य अवस्थामा फर्किने प्रयासमा रहेको उल्लेख गर्दै नेम्वाङले भने, ‘भदौ २३ गतेको जेनजी आन्दोलनले देशका लागि सन्देश, निर्देशन र पाठहरू दिएको छ। भदौ २४ गतेको वितन्डाले देशवासीको मनमा अनेक प्रश्न, संशय र पीडा छोडेको छ।’
उनले भावपूर्ण श्रद्धाञ्जलीसमेत अर्पण गर्दै भने, ‘अहिले पनि मेरो आँखामा भदौ २३ र २४ गतेका दृश्य नाँचिरहेका छन्। अधिकार र अस्तित्वका लागि सडकमा उत्रिएका कलिला नानीहरू र अबोध नौजवान साथीहरू मारिएको क्रूर दृश्यले मलाई झस्काइरहेको छ। जेन–जीले उठाएका प्रश्न गलत थिए त? किन बर्बर दमन गरियो? म उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।’


Facebook Comment