नारायणगढ–मुग्लिन सडक अवरुद्ध : सयौँ सवारीसाधन र हजारौँ यात्रु बाटैमा

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक गएको पहिरोका कारण सडक अझैसम्म अवरुद्ध छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो खसेपछि आवागमन दुवैतर्फ ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

बिहान ६ बजेसम्म पनि ढुङ्गासहितको पहिरो निरन्तर खसिरहेको हुँदा पन्छाउने काम सुरु गर्न नसकिएको हो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ढुङ्गा खस्ने क्रम रोकिएपछि तीनवटा मेसिन प्रयोग गरी सडक खुलाउने तयारी गरिएको छ ।

सडक बन्द हुँदा काठमाडौं–पोखरा चल्ने सवारीसाधन समेत बाटोमै रोकिएका छन् । सयौँ सवारीसाधन र हजारौँ यात्रु लामो समयदेखि सडकमै अल्झिन बाध्य भएका छन् । प्रहरीले यात्रुहरूलाई आफ्नो लेनमै बस्न र सजग रहन अनुरोध गरेको छ ।

सडक डिभिजन र प्रहरीले आजको लागि यो सडकखण्ड हुँदै यात्रा नगर्न सबैलाई आग्रह गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *