गोङ्गबु बसपार्कमा यात्रुको भीड, दैनिक १५ हजारभन्दा बढी बाहिरिँदै

काठमाडौं ।  दशैं नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौं उपत्यकामा तीव्र बढेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधनमार्फत एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। यात्रुहरू मुख्यतः थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

कार्यालयले दिएको तथ्यांकअनुसार असोज ३ गते सबैभन्दा बढी अर्थात् ४० हजारभन्दा बढी यात्रुले उपत्यका छाडेका थिए।

तर, सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले वर्षातका कारण राजमार्गमा बारम्बार पहिरो जाँदा बसहरू घण्टौँसम्म बाटोमै रोकिएको जानकारी दिनुभयो। विशेषगरी मुग्लिङ नारायणघाट सडकखण्डमा बढी समस्या देखिएको उनले बताए।

यता, गोङ्गबुस्थित नयाँ बसपार्कमा पनि यात्रुको चाप असाध्यै बढेको छ। सामान्य अवस्थामा दैनिक चार पाँच हजार मात्र बाहिरिने भए पनि हाल दैनिक १५ हजारभन्दा बढी यात्रु बसपार्क प्रयोग गरिरहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *