जनकपुर मेलामा झुला भाँचिँदा ५६ जना फँसे, पाँच घण्टापछि सुरक्षित उद्धार
काठमाडौं । दशैंको अवसरमा जनकपुरधामस्थित राम मन्दिर प्रांगणमा आयोजित मेलामा शुक्रबार राति झुला भाँचिँदा फँसेका ५६ जनाको सफलतापूर्वक उद्धार गरिएको छ।
नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी बल, स्थानीय क्लब र युवाको सक्रियतामा करिब पाँच घण्टासम्म चलेको उद्धार कार्यमा नेपाली सेनाले निर्माण स्थलमा प्रयोग हुने क्रेनमार्फत सबैलाई सुरक्षित निकाल्न सफल भएको हो। उद्धार कार्य मध्यरात १२ बजेसम्म जारी रह्यो।
उद्धार गरिएका ५६ जनामध्ये २० महिला र ३६ पुरुष रहेका छन्। घटनापछि राजदेवी मन्दिर परिसरमा हुने भनिएका हिजो र आजका सांस्कृतिक कार्यक्रम स्थगित गरिएको छ।
आयोजक महावीर युवा कमिटीले भाँचिएको झुलालाई खोल्ने र पुनः सञ्चालन नगर्ने निर्णय गरेको जनाएको छ। साथै प्रांगणमा रहेका अन्य मनोरञ्जनका साधन जस्तै ट्रेन, ब्रेक डान्स, स्प्रिङ आदि सञ्चालन गर्ने वा नगर्ने विषयमा हाल छलफल भइरहेको कमिटीले जानकारी दिएको छ।
प्रत्येक वर्ष लाखौं रुपैयाँ ठेक्का लगाएर मेला सञ्चालन गर्ने परम्परा भए पनि, यस वर्ष पहिलो पटक यस्तो गम्भीर घटना भएको आयोजकले जनाएको छ।


Facebook Comment