निर्वाचन आयोगले दलसँग गरेको छलफल एमाले कांग्रेसलाई अपमान गर्ने खालका भए: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँग गरेको छलफललाई तमासाको संज्ञा दिएका छन् । शुक्रबार (मंसिर ६) काठमाडौंमा नेसनल युथ भोलेन्टियर फोर्स घोषणासभामा उनले प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउन नसक्ने जिकिर गरे ।

उनले निर्वाचन आयोगमा दर्ता भएका दलहरूसँगको छलफल एमाले, नेपाली कांग्रेसजस्ता पार्टीको अपमान गर्ने खालको भएको टिप्पणी गरे । ‘तपाईंले सक्नु हुन्न । मनसाय पनि देखिँदैन । तपाईंले गरेका वार्ता कस्ता छन् ? १२५ वटा पार्टी बोलाएर वार्ता गरेका रे,’ ओलीले भने, ‘एमाले, कांग्रेसजस्ता पार्टीलाई अपमान गरेको हो । १२५ पार्टीसँग वार्ता गरेको नाटक, तमासा गरेर ।’

उनले तमासा भए पनि एमालेले आफ्ना भनाइ राखिरहेको बताए ।

प्रधानमन्त्री कार्कीले गएको बुधबार (मंसिर ३) १२५ दलका प्रतिनिधिलाई वार्तामा बोलाएकी थिइन् । छलफलमा ११० भन्दा बढी दलका प्रतिनिधिको सहभागिता थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *