देशभर तीन दिनमै बढ्दो विपद् : आगलागी, पहिरो र आक्रमणले जनधनमा ठूलो क्षति

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो शनिबार देशभर १८ वटा विपद्का घटना घटेका छन् । तीमध्ये अधिकांश आगलागीका घटना रहेका छन् भने पहिरो, सर्पदंश र अन्य कारणले पनि जनधनको क्षति भएको छ ।

उदयपुर, रौतहट, बारा, काठमाडौं र कपिलवस्तुमा दुई–दुईवटा गरी विभिन्न जिल्लामा कुल १५ वटा आगलागीका घटना भएका छन् । मकवानपुर, चितवन, कास्की र कैलालीमा भएको आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, मनाङको नासो गाउँपालिका–१ तालडाँडास्थित बेँसीसहर–चामे सडकखण्डमा माथिबाट सुक्खा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको थियो । धनुषा र डडेल्धुरामा सर्पदंशका घटना हुँदा दुई जना घाइते भएका छन् । ती सबै घटनाबाट करिब ५३ लाख ७ हजार ५ सय ५० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

यसअघि मङ्सिर ५ गते देशभर १९ वटा विपद्का घटना भएका थिए, जसमा १५ वटा आगलागीका थिए । सुनसरी र पर्सामा दुई–दुईवटा आगलागी भएका थिए भने झापा, पाँचथर, सुनसरी, खोटाङ, उदयपुर, सर्लाही, रौतहट, बारा, लमजुङ, पर्वत, नवलपरासी (पूर्व) र पाल्पामा आगलागीका कारण भौतिक सम्पत्तिमा क्षति पुगेको थियो । सो दिन पाल्पाको रिब्दीकोट–३ मा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो । सप्तरी, चितवन र मुगुमा जनावर आक्रमणका कारण घाइते भएका व्यक्तिलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

त्यसैगरी मङ्सिर ४ गते देशभर २० वटा विपद्का घटना भएका थिए । तीमध्ये १३ वटा आगलागीका थिए । रुपन्देही र कास्कीमा तीन–तीनवटा आगलागी भएका थिए भने झापा, मोरङ, सुनसरी, सिरहा, बारा र दाङमा आगलागीका कारण भौतिक क्षति भएको थियो । उक्त दिन विपद्का घटनामा परेर ११ जना घाइते भएका थिए भने अनुमानित क्षति १३ लाख ६५ हजार रुपैयाँ पुगेको थियो । साथै झापा, मोरङ, धनुषा, बझाङ र अछाममा जनावर आक्रमणका पाँच घटना भएको प्राधिकरणले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *