अपाङ्गता भएका व्यक्तिलाई एआई तालिम

काठमाडौं । सन्फ्लावर स्पेक्ट्रमद्वारा प्रस्तुत तथा प्रतीक इनोभेसन्सद्वारा आयोजित ‘AIDA २०२५: अपाङ्गता भएका व्यक्तिहरूका लागि एआई’ विषयक Technology Hackathon नेपालमा पहिलो पटक सफलतापूर्वक सम्पन्न भएको छ। अपाङ्गता भएका व्यक्तिहरूको जीवन सहज बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रमले समावेशी नवप्रवर्तनतर्फ नेपालको महत्वपूर्ण कदमको प्रतिनिधित्व गरेको छ।

नेपालभरबाट ५८ भन्दा बढी आवेदन प्राप्त भएकामध्ये उत्कृष्ट सात टोली छनोट गरी प्रतिस्पर्धामा उतारिएको थियो। सहभागीमध्ये तीन जना अपाङ्गता भएका व्यक्तिहरू र करिब ४० प्रतिशत महिलाहरूको सहभागिताले यसलाई वर्षकै सबैभन्दा समावेशी प्राविधिक कार्यक्रममा रुपमा स्थापित गर्‍यो।

ह्याकाथनअन्तर्गत Smart Mobility and Communication, AI for Autism, Digital Caregiver Systems तथा श्रवण र वाक्-अशक्त विद्यार्थीहरूका लागि शिक्षा प्रविधि गरी चार क्षेत्रमा एआई आधारित प्रोटोटाइप विकास गरिएको थियो। सम्बन्धित क्षेत्रका विज्ञ प्रशिक्षक तथा सल्लाहकारहरूले सहभागीलाई व्यवहारिक र आवश्यकतामूलक समाधान विकासमा मार्गदर्शन गरेका थिए।

७२ घन्टाको आवासीय चरणअघि राष्ट्रिय भर्चुअल आइडियाथन सञ्चालन गरिएको थियो, जहाँ समस्याको स्पष्टता, सामाजिक प्रभाव र कार्यान्वयनको सम्भाव्यताका आधारमा टोलीहरू छनोट गरिएका थिए। छानिएका टोलीहरूले सनवे कलेजमा ३६ घण्टासम्म बसेर प्रोटोटाइप विकास गरेका थिए, जसका धेरै परियोजना आईसीटी अवार्ड २०२५ स्टार्टअप र आइडियाफेस्टमा समेत प्रदर्शन गरिएका छन्।

नोभेम्बर १५ मा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा विभिन्न क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो। प्रतिस्पर्धामा Think AI ले प्रथम स्थान हासिल गर्दै रु. ५० हजार नगद पुरस्कार जित्यो। Mission Chaurasi र Access Code क्रमशः पहिलो र दोस्रो रनर-अप बने भने Team Synaptic ले उत्कृष्ट नवप्रवर्तन पुरस्कार हात पार्‍यो।

RxPIN द्वारा विकसित Sunflower Spectrum न्यूरोडाइभर्जेन्ट, विशेषतः अटिजम भएका व्यक्तिहरूको समावेशिता र जनचेतना प्रवर्द्धन गर्ने मञ्च हो। संस्थापक ध्रुव अधिकारीले युवालाई अपाङ्गता समावेशिताबारे सचेत गराउनु नै कार्यक्रमको मुख्य लक्ष्य भएको उल्लेख गर्दै यसले सकारात्मक परिवर्तन ल्याएको विश्वास व्यक्त गरे।

प्रतियोगितापछि शीर्ष १६ टोलीहरूलाई दिगो सहायक प्रविधि उद्यम विकासका लागि Incubation प्रक्रियामा समावेश गरिनेछ। Event Director जतिन भुसालले AIDA कार्यक्रम हरेक वर्ष आयोजना हुने जानकारी दिँदै सन् २०२६ मा ‘AI for People with Disabilities’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने तयारीसमेत सन्फ्लावर स्पेक्ट्रमले गरिरहेको बताए।

AIDA २०२५ ले नेपाललाई समावेशी प्रविधिको नयाँ दिशातर्फ अग्रसर गराउँदै जिम्मेवारी, सृजनशीलता र सहानुभूतिसहित भविष्य निर्माणको स्पष्ट सन्देश दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *