विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्न कुलपति व्यवस्था परिमार्जन आवश्यक: प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताएकी छन्। उनले यस विषयमा गम्भीर परामर्श र आवश्यक गृहकार्य अघि बढिरहेको स्पष्ट पारिन्।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै, कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त गर्नु आजको आवश्यकता भएको उल्लेख गरिन्। ‘शैक्षिक प्रशासनमा दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारिरहेको छ। यही यथार्थलाई ध्यानमा राख्दै प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरिएको हो,’ उनले भनिन्।
प्रधानमन्त्री कार्कीले ठूलो संरचना र व्यापक आकारले मात्र गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षा सुनिश्चित नहुने धारणा राखिन्। प्राध्यापक र विद्यार्थीबीचको उचित अनुपात कायम गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै उच्चस्तरीय अनुसन्धान र सामग्री प्रकाशनमा प्राध्यापक, विद्यार्थी र व्यवस्थापन सबै पक्ष थप सक्रिय हुनुपर्नेमा उनले जोड दिइन्।
नेपाली विद्यार्थीहरूको ठूलो हिस्सा उच्च शिक्षाका लागि विदेश गइरहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले देशभित्रै शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइन्। समयानुकूल नयाँ र व्यवहारिक शैक्षिक कार्यक्रम विकास तथा सञ्चालनमा सरोकारवाला सबैले गम्भीर ध्यान दिनुपर्ने उनको भनाइ थियो।


Facebook Comment