मध्यरातमा कर्णालीका नेतासँग प्रधानमन्त्रीले गरे पार्टी अनुशासन, एआई र पीएचडीको चर्चा

२६ पुस, काठमाडौं । कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरूले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई भेटेर आगामी बजेटबारे छलफल गरेका छन् ।प्रधानमन्त्रीलाई भेटेर आगामी बजेटमा कर्णालीलाई समेट्नुपर्ने विषयमा बेलैमा लिखित आग्रह गरेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् । ‘सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भयो, हिजो भनौँ कि आज, हिजो राती साढे ११ बजेबाट आज बिहान १ बजेसम्म,’ रिजालले सामाजिक सञ्जालमा लेखेका छन् ।

रिजालका अनुसार एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज गोरखबहादुर बोगटीको संयोजन तथा नेतृत्वमा कर्णालीबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरू प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । व्यस्त समयका बाबजुत प्रधानमन्त्रीको समय मिलेको भनेर रिजालले आभार समेत प्रकट गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले आफूहरूसँग एआईको प्रयोग, पार्टी अनुशासन र पीएचडीको चर्चा गरेको पनि रिजालले बताएका छन् ।

उनले लेखेका छन्, ‘एमाले र कांग्रेसबीचको कार्यदलको बैठक सकेर, बीचमा अरु भेटघाट पनि गरेर व्यस्तताका बीच प्राप्त समयमा उहाँको विस्तृत ज्ञानको दायराबाट विविध विषयमा लाभ हासिल गरियो– कर्णाली सभ्यता एआईको प्रयोगात्मक परीक्षणसम्म । पार्टी अनुशासनदेखि पीएचडीसम्म ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *