अर्को वर्षदेखि आँखा उपचारसँग जोडिने चस्माको भ्याट र भन्सार लिँदैनौं: स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन्।शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभाको उद्घाटन गर्दै उनले चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दै उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गरे।

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए।आँखाको उपचारसम्बन्धी उपकरण थप गर्ने र भौतिक पूर्वाधार व्यवस्थित गर्ने सन्दर्भमा सबै मिलेर काम गर्नुपर्ने उनले बताए। उनले भने, ‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्वपूर्ण विषय हो। उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरूले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरूमा, उपचार संस्थाहरूमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गरौं। उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोसिस गरौं। पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौं। ठूला ठूला भवनभन्दा साना साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ। चस्माको कुरा गर्नुभएको छ। चस्मा दुई प्रकारको हुन्छ। एउटा फेसनसँग जोडिएको पनि हुन्छ। अर्को आँखासँग जोडिएको हुन्छ।

आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौं। अरू पनि उपचारात्मक सन्दर्भमा जति पनि सामान बाहिरबाट किनेर ल्याउँछौं, सहयोगबाट पनि ल्याउँछौं। त्यस्ता सिमानामा भन्सार छुट गर्ने व्यवस्था छ।’ मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए। उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए।

—न्युज एजेन्सी नेपाल




Leave a Reply

Your email address will not be published. Required fields are marked *