खाना पकाउने ग्यासलाई माघभित्र औद्योगिक र घरायसी प्रयोजनमा छुट्याउने उद्योगमन्त्रीको घोषणा

 

२६ पुस, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिइरहेको छ । जसबापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।

उनका अनुसार अहिले प्रतिसिलिन्डर ३ सय रुपैयाँ हाराहारी अनुदान दिने गरिएको छ । त्यो अनुदान घरायसी प्रयोजनमा केन्द्रित गरी अनुदानको अनुभूति दिलाउने काम माघ महिना भित्रै गराउने समेत उनले बताए ।अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको उनले जानकारी दिए । बरु, घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको समेत उनको भनाइ छ । यसले आमजनतालाई सहुलियत दिने तयारी रहेको उनले बताए । सरकारले लामो समयदेखि तयारी गरे पनि व्यवहारमा ल्याउन सकेको छैन ।

नेपाल आयल निगमको वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् । उनले यसका लागि आवश्यक तयारी गर्नसमेत निगमलाई निर्देशन दिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *