सभामुखहरूको विश्व सम्मेलनमा नेपालको सहभागीता उपलब्धिमूलक : सभामुख
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा नेपालको सहभागीता उपलब्धिपूर्ण रहेको बताएका छन्।
जेनेभा, स्विट्जरल्याण्डमा भएको संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा भाग लिइ स्वदेश फर्किएपछि आइतबार त्रिभुवन बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले सम्मेलनका क्रममा भएको छलफलका बारेमा जानकारी दिँदै नेपालको सहभागीता उपलब्धिपूर्ण भएको बताए ।
उनले सम्मेलनमा डिजिटल क्षेत्रमा भइरहेका प्रगतिले पार्न सक्ने प्रभावका बारेमा छलफल भएको जानकारी दिए । आधुनिक प्रविधिले संसदलाई पारदर्शी र प्रभावकारी बनाउन खलेको भूमिकाका बारेमा आफूले धारणा राखेको भन्दै सभामुख घिमिरेले अबको युगमा संसदलाई केवल कानुन निर्माणका थलो मात्रै नभए प्रविधिमैत्री, जनसंवादमुखी र डिजिटल भविष्य निर्माणका नेतृत्वकर्ता हुनुपर्नेमा जोड दिएको बताए।
सम्मेलनका क्रममा विश्व राजनीतिमा देखापरेका द्वन्द्व र असमानतालाई समाधान गर्नुपर्नेमा सबै सहभागीले जोड दिएको उनको भनाइ छ । त्यस्तै उनले विभिन्न मुलुकबाट आएका संसदका प्रमुखहरूसँग नेपालले गर्न सक्ने साझेदारीका विषयमा छलफल भएको जानकारी दिए।
सभामुख घिमिरेले आगामी जनवरी ३० र ३१ मा काठमाडौंमा हुने जलवायुसम्बन्धी सम्मेलनका विषयमा अन्तर व्यवस्थापिका सङ्घका प्रमुखसँग परामर्श भएको उल्लेख गरे । अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त राष्ट्रसङ्घद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनका क्रममा सभामुख घिमिरेले ‘हाम्रो डिजिटल भविष्य निर्माणमा संसदहरूको भूमिका के हुनसक्छ?’ शीर्षकको प्यानल डिस्कसनमा धारणा राखेका थिए।
Facebook Comment