मुक्तिनाथमा यार्तुङ महोत्सव

मुस्ताङ । धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा मङ्गलबारदेखि ‘यार्तुङ’ महोत्सव, २०८२ सुरु भएको छ । जनप्रिय युवा क्लब पुराङ रानीपौवाको आयोजनामा यार्तुङ महोत्सव सुरु भएको हो ।

यहाँको पवित्र धार्मिकस्थल एवं पावन भूमि मुक्तिनाथको काखैमा अवस्थित बारागुङ मुक्ति क्षेत्र–१ स्थित पुराङ रानीपौवा खेलमैदानमा परम्परागत यार्तुङ महोत्सव शुभारम्भ गरिएको हो । महोत्सवको जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ र भारकोट छोदे गुम्बाका लामा घिर्मी रिङजिन ठकुरीले संयुक्त रुपमा महोत्सव शुभारम्भ गरे ।

जिसस प्रमुख माया गुरुङले यार्तुङ पर्व यहाँको मौलिक संस्कृति रहेकाले यसप्रकार पर्वहरु संरक्षण तथा पुुस्तान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए । यहाँको क्लबले जिल्लाभित्र र बाहिर रहेका युवा खेलाडीहरुलाई संस्कृति जोगाउन, खेलकुद र मनोरञ्जनका माध्यमबाट आयोजना युवापंक्तिलाई एकताबद्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख उल्लेख गरे ।

बरागुङ मुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष रिङजिङ नामगेल गुरुङले यहाँको धर्म संस्कृति जोगाउन स्थानीय सरकार प्रयत्नशील रहेको प्रतिक्रिया दिए । अध्यक्ष गुरुङले यार्तुङ महोत्सव सञ्चालनका लागि गाउँपालिका रु पाँच लाख विनियोजन गरेको जानकारी दिए ।

मुस्ताङका प्रजिअ विष्णुप्रसाद भुसालले यहाँको यार्तुङ पर्व मुक्तिनाथ क्षेत्रकै पहिचान बनेको र यसले यहाँका युवाहरुलाई संस्कृतिसँग जोड्ने गरी खेलकुद र मनोरञ्जनका कार्यक्रम आयोजना हुनु नै युवापुस्तामा धर्म संस्कृति र परम्परा जोगाउनतर्फ अग्रसर भएको उल्लेख गरे ।

जनप्रिय युवा क्लबले समुन्द्री सतहको तीन हजार आठ सय मिटरको उच्च उचाइमा हाइअल्टिच्युड सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा तीन पालिकाका १४ टिम, मनाङबाट दुई टिम र डोल्पाबाट एक टिम गरी १७ टिमको सहभागिता छ ।

महोत्सवमा तारा खेल, घोडादौड र कदम घोडादौडलगायतका प्रतियोगिताका साथै विविध मनोरञ्जनका कार्यक्रम आयोजना गरेको क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । महोत्सव यही साउन २४ गतेसम्म चल्नेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *