रुपन्देही कारागार रहेका रविलाई नख्खु जेल सारिने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिने भएको छ । यसअघि नै कारागार सरुवाका लागि निवेदन दिएका लामिछानेको सरुवा भने भएको थिएन । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् ।
कारागार विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार, आजै उनलाई कारागार सरुवाका लागि निर्णय गरेर रुपन्देही पठाइएको छ ।
‘नक्खु ल्याउनका लागि निर्णय गरेर पठाएका छौं,’ शर्माले भने ।
शर्माका अनुसार, लामिछानेले मन्जुरीनामा नै नक्खु कारागार भनेर मागेको र सोही अनुसार निर्णय भएको हो ।
‘उहाँको मन्जुरीनामा नै लिखित रुपमा नक्खु कारागार भनेर माग्नुभएको थियो । त्यही अनुसार निर्णय गरेर पठाएका हौं,’ शर्माले भने ।
शर्मा गृह मन्त्रालयबाट सरुवा भएर कारागार विभागको जिम्मेवारी सम्हाल्न पुगेका हुन् ।
यसअघि कारागार विभागको महानिर्देशकमा नारायण प्रसाद भट्टराई थिए । उनलाई निर्वाचन आयोग सरुवा गरेर शर्मालाई पठाइएको थियो ।
गृहमन्त्री रमेश लेखकले पनि गत बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार आयोगको बैठकमा रविको कारागार सरुवाको काम भइरहेको बताएका थिए ।
महानिर्देशक शर्माका अनुसार, अब रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले काम कारबाही अघि बढाएर उनको कारागार सरुवा हुनेछ ।
‘रुपन्देही कारागार, त्यहाँको सीडीओ कार्यालय र प्रशासनले लामिछानेलाई नक्खु कारागार ल्याउने प्रक्रिया अघि बढाउने शर्माले बताए ।
Facebook Comment