आशिफ शेखको अर्धशतक र सन्दीपको घातक बलिङका बाबजुद नेपालको तेस्रो हार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप इन्ड टी-२० सिरिजमा लगातार तेस्रो हार व्यहोरेको छ । सोमबार मेलबर्न स्टार्स एकेडेमीसँग भएको खेलमा नेपाल ३१ रनले पराजित भएको हो ।
मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ५३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । उनले ४९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, कुशल भुर्तेलले १३ बलमा २५ रन र कप्तान रोहित पौडेलले ३१ बलमा ३३ रन बनाए । अन्य ब्याट्सम्यानले भने खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
त्यसअघि, टस जितेर ब्याटिङ गरेको मेलबर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले ७४ र थोमस रोजर्सले ६५ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन मात्र खर्चिए । सोमपाल कामी र शाहव आलमले पनि एक-एक विकेट लिए ।
यसअघि नेपाल पहिलो खेलमा एनटीएसँग ४२ रनले र दोस्रो खेलमा बंगलादेश ‘ए’ टोलीसँग ३२ रनले पराजित भएको थियो ।
Facebook Comment