प्रधानमन्त्रीको नियुक्ति र बर्खास्तीमा अदालतको ‘झोक’ चल्ने ओलीको टिप्पणी
काठमाडौै । राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले आवेगमा आएर प्रधानमन्त्रीलाई हटाउने र नियुक्ति गर्ने गरेको टिप्पणी गरेका छन्। उनले प्रधानमन्त्रीको चयन संसदले गर्ने भए पनि अदालतले ‘झोक चलेका बेला’ यस्ता निर्णय गर्ने गरेको आफ्नो ‘ताजा अनुभव’ रहेको बताए।
प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री संसदबाट चुनिन्छ। चुनिएर बन्छ। कहिलेकाहीँ अदालतलाई झोक चल्दाबाहेक संसदले हटाउँछ। अब अदालतलाई नै झोक चल्यो भने त कसको के लाग्छ र? अदालतले नै ठोकिदिन्छ, प्रधानमन्त्री बर्खास्ती गरिदिएँ।”
उनले अदालत संविधानको व्याख्याता भएकाले यस्तो ‘अनुचित व्याख्या’ को अधिकार प्रयोग गरेर फैसला गर्ने गरेको आरोप लगाए। “कहिलेकाहीँ त फलानोलाई नियुक्ति गरिदिएको छु भनेर पनि ठोकिदिँदो रहेछ, अदालतले,” उनले भने। उनले आफ्नो सरकारमाथि भएको फैसलालाई संकेत गर्दै यस्ता निर्णय संसदीय प्रक्रिया बाहिरबाट हुने गरेको बताए।
प्रधानमन्त्रीले आफूहरू पूर्ण लोकतन्त्रबाट परिपूर्ण लोकतन्त्रतर्फ अघि बढिरहेको पनि दाबी गरे।
Facebook Comment