कैलाली कारागार घटना : उच्चस्तरीय अनुसन्धान आवश्यक भएको छानबिन समितिको निष्कर्ष
धनगढी । कैलाली कारागारमा गत साउन २३ गते राति कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ । उक्त घटनामा एक कैदीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए ।
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा गठन गरिएको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा कैदीबन्दीबीचको आपसी मतभेद, कारागार प्रशासनमा प्रभुत्व जमाउने प्रयास लगायतका कारणले पटक–पटक विवाद हुँदै आएको र यसैको निरन्तरतामा हिंसात्मक अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
समितिका सदस्य सचिवसमेत रहेका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार कारागारभित्र प्रभुत्व जमाउने होडकै कारण आपसी द्वन्द्व चर्किएको र अन्ततः हिंसात्मक घटनामा परिणत भएको देखिएको छ । कारागारभित्रको सीसीटीभी फुटेज स्पष्ट नभएकाले घटनाको वास्तविकता पत्ता लगाउन नसकिएको र त्यसैले विशेष दक्षता प्राप्त सुरक्षाकर्मीमार्फत सूक्ष्म अनुसन्धान आवश्यक रहेको निष्कर्ष समितिले निकालेको छ ।
छानबिनका क्रममा समितिले कारागारभित्र रहेका कैदीबन्दी र उपचाररत घाइतेहरुसँग सोधपुछ गरेको थियो । घाइतेहरुले घटनाको कारणसहित केही कैदीबन्दीको नामसमेत बताएका थिए । तर, कारागारमै रहेका ती कैदीबन्दीहरुले समितिलाई बयान दिन अस्वीकार गरेका थिए ।
जोशीका अनुसार प्रशासनिक नेतृत्वमार्फत मात्र यस्ता आपराधिक घटनाको छानबिन सम्भव नभएकाले सुरक्षा निकायकै विशेष टोलीमार्फत अनुसन्धान गर्नुपर्ने देखिएको छ ।
गत साउन २३ गते ब्लक ‘ए’ का कैदीबन्दीहरुले भित्तामार्फत ब्लक ‘बी’ मा पसेर आक्रमण गरेका थिए । उक्त आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद सजाय भोगिरहेका धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४८ जना घाइते भएका थिए ।
घाइतेमध्ये ३९ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उनीहरुलाई हाल सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्पतालमै राखिएको छ । डिस्चार्ज भएकामध्ये चार जनालाई कञ्चनपुर कारागार र एक जनालाई पश्चिम नवलपरासी कारागार स्थानान्तरण गरिएको छ । गम्भीर घाइते तीन कैदीबन्दीलाई भने काठमाडौँमा उपचार गरिएको छ ।
घटनापछि गम्भीर सुरक्षा लापरबाही भएको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई मन्त्रालय तानेर उनको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको थियो ।
Facebook Comment