खराब मौसमका कारण जय ट्रफी फाइनल खेल सुरू हुन ढिलाइ

मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फम्र्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै छ ।वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा विहान साढे ९ बजेदेखि पहिलो दिनको खेल सुरू हुने तय भएपनि अझै सुरू हुन सकेको छैन । खराब मौसमका कारण खेलको टस नै हुन सकेको छैन ।

प्रतियोगिताकै पहिलो दिनको खेल पनि खराब मौसमका कारण ढिला गरी सुरू भएको थियो । यसअघिका सम्पूर्ण लिग खेल दुईदिवसीय भएपनि फाइनल खेल भने तीन दिवसीय हुनेछ ।आरिफ शेखको कप्तानीमा रहेको पुलिस लिग चरणमा शीर्ष स्थानमा रहेको थियो भने विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी दोस्रो स्थानमा रह्‍यो । पुलिसले दुई खेल जित्दा एकमा ड्र खेलेको थियो । त्यसैगरी आर्मीले एक खेल जित्दा दुई खेलमा ड्र खेल्यो । लिसले पहिलो खेलमा आर्मीसँग ड्र खेलेपछि मधेश प्रदेश र बागमती प्रदेशलाई हराएको थियो । आर्मीले पहिलो खेलमा पुलिससँग ड्र खेल्दा दोस्रो खेलमा बागमती प्रदेशसँग ड्र खेलेको थियो । तेस्रो खेलमा मधेश प्रदेशलाई हराएको थियो ।

पुस २१ देखि सुरू भएको प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहेका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए । सिङ्गल राउण्ड रोबिनका आधारमा भएको लिगमा कुल ६ खेल भएका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *