नेपाल शिक्षक महासंघद्वारा विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलन घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा समितिबाट पारित भएको विद्यालय शिक्षा विधेयक, २०८० माथि असन्तुष्टि जनाउँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारसँग यसअघि भएको सहमतिलाई विधेयकले पूर्ण रूपमा सम्बोधन गर्न नसकेको भन्दै महासंघले पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनको कारण र माग
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विधेयकमा धेरै सकारात्मक पक्षहरू भए पनि शिक्षक तथा कर्मचारीका मुख्य सरोकारका विषय र विगतका सहमतिहरूलाई बेवास्ता गरिएको बताए । शिक्षकहरूको मुख्य माग यसअघि सरकारसँग भएको ९ बुँदे सहमतिको पूर्ण कार्यान्वयन रहेको उनको भनाइ छ ।

शिक्षकहरूले सेवा, सुविधा र विद्यालय शिक्षा ऐनका लागि २९ दिनसम्म काठमाडौंमा आन्दोलन गरेका थिए, जसको परिणामस्वरूप तत्कालीन शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा समेत दिएकी थिइन् ।

पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू
महासंघले आफ्ना माग पूरा गराउन भदौ महिनाभर विभिन्न दबाबमूलक कार्यक्रमहरू गर्ने बताएको छ ।

भदौ ९ गते: प्रधानमन्त्री, शिक्षामन्त्री, र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने ।

भदौ ११ देखि २० गतेसम्म: सबै राजनीतिक पार्टीका कार्यालयहरूमा २ घण्टा धर्ना र ध्यानाकर्षण पत्र बुझाइने ।

भदौ १३ गते: सबै पालिकामा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाइने ।

भदौ १५ गते: सबै जिल्लाका समन्वय एकाइमा ध्यानाकर्षण पत्र बुझाइने ।

महासंघले यदि मागहरू सम्बोधन नभए भदौ २१ गतेबाट थप कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएको छ । सुवेदीले यो आन्दोलन यसअघिको भन्दा बढी दबाबपूर्ण हुने बताएका छन् । महासंघले आफ्ना मागहरू समेटिने गरी विधेयक संसद्‌बाट पारित हुनेमा आशा व्यक्त गरेको छ ।

 

 

 

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *