नेपाल टेलिकमले ‘एनटी टिभी’ सेवाका लागि नयाँ बोलपत्र आह्वान गर्ने तयारी, ठेक्काको म्याद डिसेम्बरमा सकिँदै।
काठमाडौं । नेपाल टेलिकमले आफ्नो आईपीटिभी सेवा ‘एनटी टिभी’ लाई निरन्तरता दिन नयाँ बोलपत्र (टेन्डर) आह्वान गर्ने तयारी गरिरहेको छ। हाल सेवा प्रदान गरिरहेको भीएनपीटी टेक्नोलोजी (भियतनाम) र कलश (नेपाल) को संयुक्त लगानीको कम्पनीसँगको ठेक्का सम्झौताको म्याद डिसेम्बर २०२५ मा सकिँदैछ।
टेलिकमले सन् २०१९ मा गरेको बोलपत्र आह्वानपछि उक्त कम्पनीसँग पाँच वर्षको लागि सम्झौता गरेको थियो। सम्झौताअनुसार एक वर्षको म्याद थप गरेर त्यसलाई डिसेम्बर २०२५ सम्म पुर्याइएको हो। यसै सन्दर्भमा टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले हालको ठेक्काको म्याद सकिनुअघि नै नयाँ टेन्डर प्रक्रिया सुरु गर्ने तयारी भइरहेको जानकारी दिए।
सन् २०२१ को जनवरीदेखि औपचारिक रूपमा सुरु भएको एनटी टिभी सेवा हालसम्म ७७ वटै जिल्लामा उपलब्ध छ। टेलिकमको फाइबर टु द होम (FTTH) सेवा विस्तारसँगै यसका ग्राहकको सङ्ख्या पनि बढ्दो छ। यसै वर्षको असार मसान्तसम्ममा ग्राहक सङ्ख्या ६७,६९९ पुगेको छ।
एनटी टिभीले हाल १८५ भन्दा बढी टेलिभिजन च्यानलहरू प्रदान गर्दै आएको छ। ग्राहकहरूले आला कार्ट मूल्य प्रणालीअनुसार २५० रुपैयाँमा बेसिक प्याकेज र ३६० रुपैयाँमा प्रिमियम प्याकेज रोज्न सक्छन्। यस सेवाले आईपीटिभी, ओटीटी (ओभर-द-टप) प्लेटफर्म, सेट-टप बक्स, र आवश्यक हार्डवेयर तथा सफ्टवेयरको व्यवस्थापन गर्दै आएको छ।
टेलिकमले नयाँ बोलपत्रमार्फत यो सेवालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
Facebook Comment