सगरमाथा आरोहणको कथामा जेरी अन टप
काठमाडौँ । तिहारलाई लक्षित गर्दै आगामी असोज ३१ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘जेरी अन टप’को टिजर सार्वजनिक गरिएको छ ।
काठमाडौंमा सोमबार आयोजित पत्रकार सम्मेलनमा फिल्मका अभिनेता अनमोल केसीले आफूले देखेको सपनालाई चलचित्रमार्फत पर्दामा ल्याउन सफल भएको बताए ।
उनले भने, ‘मैले पटकथा पढ्दादेखि नै देखेको एउटा सपनालाई पर्दामा ल्याएको छु । यसका लागि छायाङ्कनसहित तीन वर्ष मेहनत गरेका छौँ । यो नेपालको सौन्दर्य देखिने र पर्यटन प्रवर्द्धन गर्ने फिल्म बनेको छ ।’ उनले धेरै समयपछि आफ्नै पिता अभिनेता भुवन केसीसँग फिल्ममा काम गरेका छन् ।
‘मैले बुवा (भुवन केसी) सँग पहिला पनि छिटपुट काम गरेको थिएँ, यसपटक भने बाबु र छोराकै भूमिकामा फिल्ममा काम गरेका छौँ । बुवाको काम गर्ने शैली, ऊर्जा र लगनशीलताले सधैँ मलाई प्रेरणा दिन्छ’, अभिनेता केसीले भने ।
फिल्मकी अभिनेत्री आँचल शर्माले आफूले श्रेया नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिइन् । उनले भनिन्, ‘श्रेया निडर र एक स्वाभिमानी युवती हुन् । उनले गर्ने निर्णयले उनको क्षमतालाई प्रष्ट्याउँछ । मैले यो पात्रलाई पर्दामा देखाउन पाउँदा निकै उत्साहित छु । हिमालका विषयमा बनेको फिल्मले युवापुस्तालाई आन्तरिक पर्यटक बन्न प्रेरित गर्ने विश्वास छ ।’
अनन्या फिल्मसले निर्माण गरेको फिल्म ‘जेरी अन टप’ मा अभिनेता केसी र अभिनेत्री शर्मासँगै जसिता गुरुङ, केदार घिमिरे, भुवन केसीलगायतका कलाकारले अभिनय गरेका छन् ।
सरोज न्यौपाने निर्माता रहेको उक्त फिल्ममा हेमराज विसीको लेखन तथा सुयोग गुरुङको निर्देशन छ । उक्त फिल्मको कथा विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण र यात्राका क्रममा हुने प्रेमकथामा केन्द्रित रहेको जनाइएको छ ।
Facebook Comment