यसै वर्ष बाघ गणना गर्ने तयारी, बजेट अभावका बीच विभाग सक्रिय
काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यसै वर्ष बाघ गणना गर्ने तयारी थालेको छ। यसअघि गैंडा गणनाको तयारी गरिरहेको विभागले चालु आर्थिक वर्षभित्रै बाघको गणना सम्पन्न गर्ने लक्ष्य राखेको हो।
विभागका अनुसार, बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा सरकारले २० लाख रुपैयाँ मात्र विनियोजन गरेको छ। तर, सम्पूर्ण गणनाका लागि करिब २ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। बजेट अभावका कारण विभागले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय र निजी क्षेत्रसँगको सहकार्यमा गणना कार्य अघि बढाउने तयारी गरिरहेको छ।
“सरकारले छुट्याएको रकमले एक छेउ पनि नपुग्ने भएकाले वैकल्पिक स्रोतमार्फत बजेट जुटाउने प्रयास भइरहेको छ,” विभाग स्रोतले भन्यो।
सरकारले हरेक चार वर्षमा बाघ गणना गर्दै आएको छ। विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार, सन् २०२५ (वि.सं. २०८२) भित्र गैंडा र बाघ दुवैको गणना सम्पन्न गरिनेछ। बाघ गणना मंसिर–पुस महिनातिर गर्ने गरी तयारी थालिएको उनले जानकारी दिए।
बाघ गणना चितवन, बर्दिया, पर्सा, बाँके र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै राष्ट्रिय वन र मध्यवर्ती क्षेत्रहरूमा गरिनेछ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, गणनामा बाघको संख्यासँगै उनीहरूको आहारा प्रजातिको अवस्था पनि अध्ययन गरिनेछ।
गणनाका क्रममा बाघ बढी ओहोरदोहोर गर्ने क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिन्छ। ती क्यामेराले खिचेका तस्बिरका आधारमा बाघको पहिचान र संख्या निर्धारण गरिन्छ। बाघको शरीरमा रहेका धर्सा (पाटा) हरएक फरक हुने भएकाले फोटो विश्लेषणबाट उनीहरू छुट्याइन्छन्।
विभागका अनुसार, क्यामेरा तीन महिनासम्म बाघ हिँड्ने क्षेत्रहरूमा राखिन्छ। त्यसपछि खिचिएका तस्बिरलाई सफ्टवेयरमार्फत विश्लेषण गरेर अन्तिम संख्या तय गरिन्छ। सन् २०२२ को गणनामा १ हजार क्यामेरा प्रयोग गरिएको थियो भने करिब २ सय जना प्राविधिक परिचालित भएका थिए।
गैंडा गणना भने हात्ती चढेर प्रत्यक्ष रूपमा गरिन्छ। बाघ गणनामा मानव उपस्थित नरहने भए पनि प्रविधि प्रयोग र उपकरण महँगा हुने भएकाले खर्च बढी लाग्ने विभागको भनाइ छ।
नेपालमा वैज्ञानिक ढंगबाट बाघ गणना सुरु गरिएको १६ वर्ष भइसकेको छ। सन् २००९ मा १२१, सन् २०१३ मा १९८, सन् २०१८ मा २३५ र सन् २०२२ मा ३५५ वटा बाघ गणना गरिएको थियो। पछिल्लो गणनामा चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो।
सन् २०१० मा रुसमा भएको बाघ पाइने देशहरूको सम्मेलनले सन् २०२२ सम्म बाघ संख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो। नेपालले सन् २००९ मा रहेको १२१ बाघबाट २५० पुर्याउने लक्ष्य राखेको थियो। तर, सन् २०२२ मा बाघ संख्या ३५५ पुगेपछि नेपालले सो लक्ष्यभन्दा बढी उपलब्धि हासिल गरेको छ।
तर, बाघको संख्या वृद्धिसँगै समस्या पनि देखिन थालेका छन्। बाघले मानव बस्तीमा छिरेर आक्रमण गर्ने घटना बढ्दै गएको छ भने आहारा प्रजातिको संख्या घटेको भन्दै केही क्षेत्रमा बाघको संख्या सन्तुलनमा ल्याउनुपर्ने आवाज उठ्न थालेको छ।
Facebook Comment