साउनमा ४० अर्ब आन्तरिक, ४.५७ अर्ब वैदेशिक ऋण संकलन
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सरकारले ४० अर्ब रूपैयाँ बराबरको सार्वजनिक ऋण उठाएको छ। ब्याजदर घटिरहेको सन्दर्भमा सरकारले सस्तो ऋण संकलन गर्न सक्रियताका साथ साउन महिनामै ठूलो परिमाणमा आन्तरिक ऋण संकलन गरेको हो।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, साउन महिनामा मात्रै ४ अर्ब ५७ करोड रूपैयाँ वैदेशिक ऋणसमेत भित्र्याइएको छ।
त्यस्तै, सोही अवधिमा सरकारले विगतको ६ अर्ब ६१ करोड रूपैयाँ ऋण फिर्ता गरेको छ भने ५ अर्ब ४३ करोड रूपैयाँ ब्याजको रुपमा भुक्तानी गरेको छ।
साउन महिनामा थपिएको ऋणसहित सरकारको तिर्नुपर्ने कुल ऋण २६ अर्ब ८३ करोड रूपैयाँ पुगेको छ।
हालसम्म सरकारको कुल ऋणमध्ये १२ खर्ब ८१ अर्ब रूपैयाँ आन्तरिक ऋण रहेको छ भने १४ खर्ब २ अर्ब रूपैयाँ वैदेशिक (बाह्य) ऋण रहेको तथ्यांकमा उल्लेख छ।
सरकारले चालु वर्षमा पनि बजेट घाटा पूर्तिका लागि आन्तरिक तथा बाह्य स्रोतमार्फत ऋण संकलनलाई निरन्तरता दिने संकेत देखिएको छ।
Facebook Comment