बसन्तपुर–इन्द्रचोकमा खाद्य अनुगमन, मापदण्डविपरीतको ३१ लिटर तेल नष्ट

काठमाडौं । काठमाडौं  महानगरपालिकाले सोमवार बसन्तपुर र इन्द्रचोक क्षेत्रका खाद्य व्यवसायहरूमा अनुगमन गर्दै मापदण्डविपरीत प्रयोग गरिएको ३१ लिटर तार्ने तेल नष्ट गरेको छ।

महानगरको कृषि तथा पशुपंक्षी विकास विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले घुम्ती प्रयोगशालासहितको खाद्य अनुगमन भ्यान प्रयोग गरी वडा नम्बर २३ र २४ अन्तर्गत चारवटा रेस्टुरेन्ट र एक मिठाई पसलमा निरीक्षण गरेको हो।

अनुगमनका क्रममा चारवटा रेस्टुरेन्टमा प्रयोग भइरहेको तेलको गुणस्तर परीक्षण गर्दा दुईवटामा प्रयोग गरिएको तेल स्वास्थ्य मापदण्डविपरीत रहेको पाइएको थियो। ती रेस्टुरेन्टबाट क्रमशः २२ लिटर र ९ लिटर गरी जम्मा ३१ लिटर अखाद्य तेल नष्ट गरिएको विभागले जनाएको छ।

त्यस्तै, मिठाई पसलबाट संकलन गरिएका नमुनाहरू प्रयोगशालामा परीक्षण गर्दा सबै मिठाई सामग्री मापदण्डअनुरूप रहेको पुष्टि भएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई खाद्य स्वच्छता र सरसफाइमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। विशेषगरी, एउटै तेल बारम्बार प्रयोग नगर्न, शाकाहारी र मांसाहारी परिकारहरू छुट्टाछुट्टै तयारी तथा भण्डारण गर्नुपर्ने विषयमा स्पष्ट सचेतना दिइएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै यस्ता अनुगमन कार्यलाई नियमित रूपमा जारी राख्ने प्रतिबद्धता जनाएको छ। साथै, व्यवसायीहरूलाई खाद्य सुरक्षामा जिम्मेवार बन्न समेत आह्वान गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *