ललितपुरमा अनलाइन जुवा र लागुऔषध कारोबारमा संलग्न युवक पक्राउ, ९१ लाख नगदसहित सामग्री बरामद

काठमाडौं । अनलाइन जुवा (सट्टाबाजी) र लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सहकार्यमा उनलाई सोमबार साँझ नियन्त्रणमा लिएको हो।

पक्राउ पर्ने युवक सिन्धुलीको कमलामाई नगरपालिका–२, पिपलभन्ज्याङका २६ वर्षीय गौरव स्याङतान हुन्। उनलाई ललितपुर महानगरपालिका–४ स्थित शान्तिकुना मार्गको एक कोठाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कोठामा तलासी गर्दा स्याङतानको साथबाट ठूलो परिमाणको नगदसहित अनलाइन जुवा र लागुऔषध कारोबारमा प्रयोग हुने विभिन्न सामग्रीहरू बरामद गरिएको छ। कोठाबाट नेपाली रुपैयाँ ९१ लाख ५० हजार, नोट गन्ने मेसिन, तौल गर्ने तराजु, २१ थान मोबाइल सेट, एक थान ल्यापटप, एक थान आइप्याड, आठ थान बैंकका एटीएम कार्ड, एक थान मोबाइल वाइफाइ र ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड फेला परेको हो।

त्यसैगरी, लुकाएर राखिएको अवस्थामा लागुऔषध गाँजा १ किलो ५०० ग्राम पनि प्रहरीले बरामद गरेको छ।

हाल पक्राउ परेका स्याङतानलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ।

बरामद सामग्रीको विवरण:

१. नेपाली रुपैयाँ ९१ लाख ५० हजार
२. नोट गन्ने मेसिन – १ थान
३. तौल गर्ने तराजु – १ थान
४. गाँजा (लगभग) – १ किलो ५०० ग्राम
५. मोबाइल सेट – २१ थान
६. ल्यापटप – १ थान
७. आइप्याड – १ थान
८. गौरव स्याङतानको नाममा रहेका एटीएम कार्ड – ८ थान
९. ‘चेवाङ्’स् प्ले ग्राउन्ड’ लेखिएको बोर्ड – १ थान
१०. टिसम फोरजी प्लस एलटीई मोबाइल वाइफाइ हटस्पट – १ थान

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *