इजरायल र जापान रोजगारीको प्रलोभन देखाई ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । विदेश पठाइदिन्छु भन्ने झुटो आश्वासन दिई रकम ठगी गर्ने गिरोहका दुई सदस्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूमा स्याङ्जा पुतलीबजार नगरपालिका-१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौं महानगरपालिका-१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन्।

सुसनले एक व्यक्तिलाई इजरायल रोजगारीमा पठाइदिने भन्दै १२ लाख रुपैयाँ असुलेका थिए भने योगेन्द्रले जापान लैजाने प्रलोभनमा पारेर अर्को व्यक्तिबाट ६ लाख रुपैयाँ लिएका थिए। रकम बुझिसकेपछि उनीहरू दुवैजना सम्पर्कबाट हराएका थिए।

पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान थालेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुसनलाई काठमाडौं महानगरपालिका-९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१० बाट सोमबार पक्राउ गरेको हो।

हाल उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *