काठमाडौं । मोरङ जिल्ला कारागारमा एक महिला कैदी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भनिने राधा भट्टराई बुधबार बिहान करिब ४:३० बजे कारागारको शौचालयभित्र सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन्।
जेलर गौरव ढुंगेलका अनुसार शौचालयको ढोका भित्रबाट चुक्कुल लगाइएको अवस्थामा शव फेला परेको हो। “घटनाको प्रारम्भिक अवस्था हेर्दा आत्महत्या जस्तो देखिन्छ,” मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्।
घटनाको जानकारी पाएलगत्तै डीएसपी चुँडालको नेतृत्वमा प्रहरीको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ। परिवारका सदस्यलाई खबर गरिसकिएको र उनीहरू आएपछि कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि पठाइने जेल प्रशासनले जनाएको छ।
जेल प्रशासनका अनुसार मृतक भट्टराईलाई पहिलेदेखि नै डिप्रेसनको समस्या थियो। २०८० साल माघ महिनाको सुरुमा उनले आफ्ना छोरा र छोरीसहित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा हामफालेकी थिइन्। घटनामा छोरा र उनी आफू बचाइए पनि करिब ६ वर्षीया छोरीको ज्यान गएको थियो।
उक्त घटनापछि प्रहरीले भट्टराईलाई २०८० माघ ५ गते पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानपछि कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाइएको थियो। माघ २३ गते अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनी मोरङ जिल्ला कारागार चलान भएकी थिइन्। अन्ततः सुनसरी जिल्ला अदालतले २०८१ साल कात्तिक ७ गते जन्मकैद (२५ वर्ष कैद)को फैसला सुनाएको थियो।
सजाय भुक्तानकै क्रममा उनी कारागारको शौचालयमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्।
हाल मोरङ जिल्ला कारागारमा २ जना आश्रित बालकसहित १०७ जना महिला कैदीबन्दी रहेका छन्। राधा भट्टराईको निधनअघि यो संख्या १०८ रहेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment