अविरल वर्षाले देशभर ९ सडक पूर्णरूपमा अवरुद्ध, १५१ सडकखण्डमा आंशिक सञ्चालन
काठमाडौं । देशभरको निरन्तर वर्षाका कारण विभिन्न स्थानका नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी रूपमा मात्र सवारी आवागमन भइरहेको छ।
सडक विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार कुल ३७१ सडकखण्डमध्ये २११ सडक पूर्ण रूपमा सञ्चालनमा रहेका छन्। विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार बाढी, पहिरो, डुबान, पुल बगाउने, निर्माण तथा मर्मतकार्यका कारण सडक अवरुद्ध भएका हुन्।
शर्माका अनुसार, “कतिपय स्थानमा अझै पनि बाढी र पहिरोका कारण सडक मर्मत सम्भव भएको छैन, पहिरो हटाउने काम भने जारी छ।”
पूर्ण रूपमा अवरुद्ध सडकखण्डहरू यस्ता छन्:
गल्छी–त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड:
असार २४ मा हिमताल फुटेर चीनतर्फबाट आएको बाढीले क्षति पु-याएपछि अहिलेसम्म बन्द छ।
कर्णाली करिडोर (दक्षिण खण्ड):
हुम्लाको पैमा नदीमा पानीको बहाव बढ्दा सडक सञ्चालनमा आउन सकेको छैन।
उत्तर–दक्षिण कोशी राजमार्ग:
पुल निर्माण कार्य र उच्च बहावका कारण यो सडकसमेत पूर्ण अवरुद्ध छ।
तमोर करिडोर (चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक):
साउन ६ गते बाढीले बेलिब्रिज बगाएपछि सडक सञ्चालनमा आएको छैन।
तातोपानी–टिमुरे (ठोरी–रसुवागढी सडक):
पहिरोका कारण अवरुद्ध भएको यो सडकमा अहिले मलबा हटाउने काम भइरहेको छ।
छिन्चु–मरिम सडक (पश्चिम रुकुम):
भेरी करिडोर अन्तर्गत पर्ने यो खण्डमा लेदो र पहिरोले आवागमन ठप्प छ।
सहिद राजमार्ग (रोल्पा):
लगातारको वर्षाले पहिरो खसिरहेकाले बाटो पूर्ण रूपमा बन्द छ। पहिरो हटाउने काम वर्षा रोकिएपछि मात्र सम्भव हुने जनाइएको छ।
सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड (दैलेख):
लगातार सुख्खा पहिरो खस्दा रातिको समयमा सडक बन्द गरिएको छ भने दिनको समयमा मात्रै सञ्चालन गरिने व्यवस्था गरिएको छ।
अरनिको राजमार्ग (सिन्धुपाल्चोक खण्ड):
भारी वर्षापछि खसेको पहिरोका कारण यो खण्ड पनि पूर्ण रूपमा बन्द रहेको विभागले जनाएको छ।
सडक विभागले अवरुद्ध सडकहरू यथासिघ्र सञ्चालनमा ल्याउन आवश्यक संयन्त्र परिचालन गरिएको जानकारी दिएको छ।
Facebook Comment