शिक्षा विधेयकविरुद्ध शिक्षक महासंघको एमाले कार्यालयमा प्रदर्शन, मागसहित ध्यानाकर्षण पत्र बुझाइयो
काठमाडौं । विद्यालय शिक्षा विधेयकप्रति चर्को असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले बिहीबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा धर्ना दिएको छ।
विधेयकमा आफ्ना मागहरू समेटिएको छैन भन्दै आक्रोशित बनेको महासंघले ध्यानाकर्षण गराउन विभिन्न राजनीतिक दलका कार्यालयमा चरणबद्ध प्रदर्शनको कार्यक्रम अघि सारेको हो।
च्यासलमा आयोजित धर्नापछि महासंघका प्रतिनिधिहरूले एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त अवसरमा महासचिव पोखरेलले विद्यालय शिक्षा सुधारका लागि ल्याइएको विधेयकमा शिक्षकका विषयहरू समेट्न एमालेले सहजीकरण गरेको दाबी गरे। उनले सरकारसँग विगतमा भएका सहमतिहरू कार्यान्वयन गर्न एमाले प्रतिबद्ध रहेको भन्दै, प्रतिनिधिसभाबाट छुटेका मुद्दाहरू राष्ट्रियसभामा समेट्ने पहल गर्ने आश्वासन पनि दिए।
महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले अघिल्लो ९ बुँदे सहमति पूर्ण रूपमा कार्यान्वयन नभएकाले फेरि आन्दोलनको बाटो रोज्नुपरेको बताइन्।
उनको भनाइमा, प्रस्तावित विधेयकमा शिक्षक तथा विद्यालय कर्मचारीका मुख्य सरोकार अझै अपूरा छन्। उनले राजनीतिक दलहरूले प्रतिनिधिसभा र राष्ट्रियसभामा आवश्यक संशोधनका लागि सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
महासंघले शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पनि धर्ना दिने तयारी गरेको छ। यसअघि बुधबार नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको थियो।
Facebook Comment