फौजदारी अभियोगमा वडाध्यक्ष थापामाथि पक्राउ पुर्जी, पद निलम्बन नहुँदा कानूनको उल्लंघन
काठमाडौं । सुनसरीको इनरुवा नगरपालिका–६ का वडाध्यक्ष सुमन थापाविरुद्ध प्रहरीले शरीर अंगभंगसम्बन्धी फौजदारी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला अदालत सुनसरीको अनुमति लिएर प्रहरीले उक्त पुर्जी जारी गरेको हो।
थापाले २०८१ साल फागुन २२ गते साँझ चतराबाट कान्छीचोकतर्फ आउँदै गर्दा चलाएको बा २१ च ६८८८ नम्बरको कारले प्र.१–०२–०४४प ७४२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पछाडि सवार देविका खनाल गम्भीर घाइते भएकी थिइन्। उपचारपछि उनी हाल अशक्त अवस्थामा जीवनयापन गरिरहेकी छिन्।
उक्त घटनापछि पीडित पक्षले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरेपछि भदौ ३ गते अदालतले जिल्ला सरकारी वकिल कार्यालयलाई कारणसहित जवाफ पेश गर्न आदेश दिएको थियो। त्यसअनुसार, साउन १६ गते थापाविरुद्ध मुद्दा दर्ता गरिएको र साउन २० गते पक्राउ पुर्जी जारी गरिएको प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार थापा हाल फरार छन् र उनको खोजीमा प्रहरी परिचालन गरिएको छ। कानुनअनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध अदालतमा फौजदारी मुद्दा दर्ता भएपछि उनीहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था छ। तर वडाध्यक्ष थापा भने मुद्दा दर्ता र पक्राउ पुर्जी जारी भएपनि भदौ ८ गतेसम्म वडाको नियमित कामकाजमा सक्रिय रहेका थिए।
भदौ ९ गतेदेखि उनले वडा सदस्य कृष्णकुमार श्रेष्ठलाई कार्यवाहक तोकेर फरार भएका छन्। यद्यपि, उनी उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई भेटेर आफूमाथिको कारबाही रोक्न दबाब दिने प्रयासमा लागेको स्रोतले जनाएको छ।
थापाले उपप्रधानमन्त्री र गृहमन्त्रीसँगको भेटको फोटो सार्वजनिक भएपछि उनीमाथि थप आलोचना सुरु भएको छ। फोन सम्पर्कका लागि गरिएको प्रयासमा थापाको मोबाइल बन्द रहेको थियो।
सुनसरीका अधिवक्ता वसन्त सुवेदीले शरीर अंगभंग जस्तो फौजदारी मुद्दा लागेपछि कुनै पनि सार्वजनिक पदधारी व्यक्तिले स्वतः निलम्बनमा जानुपर्ने कानुनी व्यवस्था रहेको स्पष्ट पारे।
प्रहरीले थापालाई पक्राउ गर्न तीव्र खोजी कार्य जारी राखेको जनाएको छ।
Facebook Comment