दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा अयोग्य, फिफा र एएफसीको खेल रोकियो

काठमाडौं । नेपालस्थित दशरथ रंगशालामा अब फिफा र एएफसी अन्तर्गतका आधिकारिक फुटबल खेलहरू आयोजना नहुने भएका छन्।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले हालै रंगशालाको निरीक्षण गर्दा आवश्यक मापदण्ड पूरा नभएको निष्कर्ष निकालेपछि, दशरथ रंगशालामा फिफा र एएफसीका खेल सञ्चालन गर्न नमिल्ने निर्णय लिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार, दशरथ रंगशालाको पूर्वाधार अन्तर्राष्ट्रिय खेलका लागि उपयुक्त नभएकोले अब त्यहाँ यस्ता प्रतियोगिता आयोजना नहुने निश्चित भएको हो।

“रंगशालाले फिफा र एएफसीको मापदण्ड पूरा नगरेसम्म त्यहाँ आधिकारिक खेल हुन सक्दैन,” महासचिव राईले भने।

यद्यपि उनले साफ च्याम्पियनसिप तथा अन्य अन्तर्राष्ट्रिय श्रृंखला भने दशरथ रंगशालामा सञ्चालन हुने जानकारी दिएका छन्।
“फिफाको खेल नभए पनि नेपाली दर्शकले आफ्नै मैदानमा साफ र अन्य अन्तर्राष्ट्रिय खेलहरू हेर्न पाउनेछन्,” उनले थपे।

दशरथ रंगशाला यसअघि पनि पटक–पटक एएफसीको निरीक्षणमा अयोग्य ठहरिँदै आएको छ। यसै कारण नेपालले सन् २०२६ को फिफा विश्वकप छनोट र सन् २०२७ को एएफसी एसियन कप छनोटअन्तर्गतका खेलहरू घरेलु मैदानमा खेल्न पाएको थिएन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *