गोप्य फोनवार्ता प्रकरणपछि थाई प्रधानमन्त्री पाटोङटार्न पदमुक्त
काठमाडौं । थाईल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पाटोङटार्न शिनावात्रालाई पदच्युत गर्ने फैसला गरेको छ। विवादास्पद फोनवार्ताका कारण उनीमाथि उठेको नैतिकताको प्रश्नलाई सम्बोधन गर्दै अदालतले ‘नैतिक आचरणको गम्भीर उल्लङ्घन’ भएको ठहर गर्दै उनलाई प्रधानमन्त्री पदबाट तत्काल हटाउने निर्णय सुनाएको हो।
अदालतको फैसलामा भनिएको छ, “प्रधानमन्त्री पाटोङटार्नले राष्ट्रको गौरव जोगाउन सकिनन्, र व्यक्तिगत स्वार्थलाई राष्ट्रिय हितभन्दा अगाडि राखिन्। यसले न केवल नैतिकता भङ्ग गर्यो, तर जनताको विश्वासमा गहिरो चोट पुर्यायो।”
गत जुलाईमा क्याम्बोडियाका नेता हुन सेनसँग भएको गोप्य फोनवार्ता सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन्। सो वार्तामा उनले प्रयोग गरेको भाषा र सन्देशलाई लिएर देशभित्र तीव्र आलोचना भएको थियो। अदालतले सो वार्ताले थाइल्याण्डभन्दा क्याम्बोडियाको हितमा असर पार्ने आशंका जनमानसमा पैदा गरेको टिप्पणी गरेको छ।
पाटोङटार्नले भने उक्त संवादलाई ‘सम्झौता प्रयासको हिस्सा’ भन्दै बचाव गरेकी थिइन्। तर अदालतले उनको पक्षलाई अस्वीकार गर्दै प्रधानमन्त्री पदको गरिमा कमजोर बनाएको ठहर गरेको छ।
अदालतको निर्णयसँगै पाटोङटार्न प्रधानमन्त्री पदबाट पदच्युत भएकी छन् भने उनको नेतृत्वमा रहेको मन्त्रीपरिषद् स्वतः विघटन भएको छ। उनी २००८ यता संवैधानिक अदालतबाट हटाइने पाँचौं प्रधानमन्त्री बनेकी छन्।
३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी पाटोङटार्न थाइल्याण्डको इतिहासमै सबैभन्दा कान्छी प्रधानमन्त्री हुन्। साथै उनी देशको दोस्रो महिला प्रधानमन्त्री पनि हुन्। यसअघि उनकी काकी यिङलक शिनावात्रा सन् २०११ देखि २०१४ सम्म प्रधानमन्त्री थिइन्।
‘उङ इङ’ उपनामले चिनिने पाटोङटार्न सन् २०२१ मा फ्यु थाइ पार्टीमा प्रवेश गरेकी थिइन् र २०२३ मा पार्टी नेतृ बनेकी थिइन्। स्रेत्था थाविसिन पदच्युत भएपछि उनी संसदबाट प्रधानमन्त्री निर्वाचित भएकी थिइन्।
शिनावात्रा परिवार थाइल्याण्डको राजनीतिमा दशकौँदेखि प्रभावशाली मानिँदै आएको छ। पाटोङटार्नको पदच्युतिलाई सोही राजनीतिक वंशका लागि गम्भीर धक्का मानिएको छ।


Facebook Comment