चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १३ बालश्रममुक्त वडा घोषित

काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरलाई बालश्रममुक्त बनाउने अभियानलाई तीव्रता दिएको छ । सोही अभियानअन्तर्गत शुक्रबार चन्द्रागिरि नगरपालिकाको वडा नम्बर १३ लाई बालश्रममुक्त वडा घोषणा गरिएको छ ।

वडाको प्राङ्गणमा आयोजित एक समारोहमा नगर प्रमुख घनश्याम गिरीले औपचारिक रूपमा उक्त घोषणा गर्नुभयो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख गिरीले चन्द्रागिरि नगरपालिकालाई पूर्ण रूपमा बालश्रममुक्त बनाउने अभियान जारी रहेको र अब दुई वटा वडा मात्र घोषणा हुन बाँकी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष श्रीकृष्ण खत्रीले वडालाई बालश्रममुक्त बनाउन सबै सरोकारवाला निकायहरूको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अभियानलाई सफल बनाउन हामीले विभिन्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्‍यौँ । वडाभित्र पटक-पटक अनुगमन गर्दा उद्योग तथा कलकारखानाहरूबाट तीन जना बालबालिकाको उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ । बालबालिकालाई काममा नलगाउन सम्बन्धित व्यक्ति तथा संस्थाहरूलाई सचेत गराइएको छ ।’

चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरलाई बालश्रममुक्त बनाउने विषयलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । अधिकांश वडाहरूलाई बालश्रममुक्त घोषणा गरिसकेको र बाँकी वडाहरूलाई पनि छिट्टै घोषणा गर्ने तयारी भइरहेको नगरपालिकाले जानकारी दिएको छ ।

बालश्रममुक्त घोषणा हुनुअघि बालबालिकाहरूले प्लेकार्डसहित र्‍याली निकालेका थिए । घोषणा कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, वडाका जनप्रतिनिधिहरू, शिक्षा विभागका प्रमुख, शिक्षक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको व्यापक सहभागिता रहेको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *