बिदाइ भाषणमा बाइडेनले भने : अमेरिकामा केही धनीहरूको वर्चस्व बढ्दैछ
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा केही धनीहरूको वर्चस्व बढिरहेको बताएका छन् । स्थानीय समयअनुसार बुधबार राति राष्ट्रपतिका रूपमा आफ्नो अन्तिम सम्बोधन गर्दै उनले धनीहरूको वर्चस्व बढ्दा अमेरिकी लोकतन्त्र खतरामा परेको बताएका छन् ।‘देशमा धनीहरूको सानो वर्गको वर्चस्व बढ्दैछ। यसले देश र लोकतन्त्रलाई खतरा पु¥याइरहेको छ,’ बाइडेनले भने । आफ्नो सम्बोधनमा उनले प्रविधि र औद्योगिक क्षेत्रको एकाधिकार बढिरहेको प्रति पनि चिन्ता प्रकट गरे । यो ‘अमेरिकी नागरिकका अधिकारहरूका लागि खतरनाक’ रहेको उनको टिप्पणी थियो ।
आफ्नो कार्यकालको समीक्षा गर्दै उनले भने, ‘हामीले जुन कार्यहरू गरेका छौं, त्यसको असर देखिन केही समय लाग्नेछ, तर बीउ रोपिसकिएको छ। ती बढ्नेछन् र आउने दशकहरूमा फक्रनेछन्।’बुधबार बिहान सार्वजनिक गरिएको एक विज्ञप्तिमा उनले आफूले सार्वजनिक गरेका केही प्रतिबद्धताहरू पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार सम्हाल्नु ठीक पाँच दिन पहिले बाइडेनले दिएको अन्तिम भाषणमा उनले आफ्नो पाँच दशक लामो राजनीतिक यात्राको पनि चर्चा गरे ।
‘संसारमा केवल अमेरिकामा मात्र यस्तो सम्भव छ, जहाँ एक भकभकाउने बच्चा पनि राष्ट्रपति बन्न सक्छ।’ बाइडेनलाई बाल्यकालमा भकभकाउने समस्या थियो ।बाइडेनले यसअघि सोमबार राजधानी वासिङ्गटनमा विदेश नीतिबारे आफ्नो अन्तिम सम्बोधन गरेका थिए। उक्त सम्बोधनमा उनले चीन कहिल्यै अमेरिका भन्दा अगाडि बढ्न नसक्ने दाबी गरेका थिए ।साथै, उनले अफगानिस्तानमा युद्ध अन्त्य गर्ने आफ्नो निर्णयलाई पनि उचित ठहर गरेका थिए। बाइडेनको कार्यकालमै अगस्ट २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फर्किएको थियो ।२० वर्षदेखि त्यहाँ तैनाथ अमेरिकी सेना फर्काएसँगै यसलाई अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध अन्त्य भएको मानिन्छ ।
उनी अमेरिकी इतिहासमा राष्ट्रपतिको बहसपछि चुनावी मैदान छाड्ने पहिलो राष्ट्रपति हुन् । उनी अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति पनि हुन् । राष्ट्रपतिको शपथ गर्दा उनी ७८ वर्ष २२० दिनका थिए । जबकि ट्रम्प दोस्रोपटक राष्ट्रपति बन्दा ७८ वर्ष ६१ दिनका हुनेछन् ।अमेरिकी संविधानअनुसार ट्रम्प तेस्रो पटक राष्ट्रपति बन्न सक्दैनन्। यस्तोमा, केही वर्षसम्म बाइडेनको यो रेकर्ड कायम रहनेछ।
Facebook Comment