नक्कली कागजात बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गोरखा सहिदलखन गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४५ वर्षीय अचल लामिछाने, सुर्खेत, विरेन्द्रनगर नगरपालिका–७ घर भई हाल काठमाडौँ धुम्बाराही बस्ने २९ वर्षीय सन्देश गौतम र काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल काठमाडौँ गोङ्गबु बस्ने २१ वर्षीय सविन आलेमगर पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

उनले भने, ‘काठमाडौँको सामाखुशी टाउनप्लानिङमा अचल लामिछानेले सञ्चालन गरेको ‘इजीसप’मा एसइई, प्रहरी रिपोर्ट, विभिन्न होटल तथा संस्थामा काम गरेको ‘एक्सप्रेन्स लेटर’सहित नक्कली (कीर्ते) कागजात बनाउने गरेको भन्ने सूचनाका आधारमा परिसरबाट खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।’

खानतलासी गर्दा पसलमा भएको कम्प्युटरमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयको कीर्ते कागजात फेला परेकामा उक्त कम्प्युटर बरामद गरी निज तीन जनालाई नियन्त्रणमा लिई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको प्रवक्ता बोहराले बताए ।

विदेश पठाउने भन्दै ५० लाख बढी ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारीका लागि सर्विया र रसिया पठाइदिने भन्दै रु ५० लाख ५० लाख रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने बारा कोल्हवी नगरपालिका–४ का २६ वर्षीय कार्तिककुमार चौधरी र इलाम नगरपालिका–१ का २८ वर्षीय मनोज दाहाललाई ठगी अभियोगमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकामध्ये चौधरीले सर्विया पठाइदिने भन्दै रु ४२ लाख र दाहालले रसिया पठाइदिने भन्दै रु आठ लाख ५० हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’ निज दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *