एमाले अध्यक्ष ओली : ‘आगामी निर्वाचनमा बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई एकल बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
शुक्रबारदेखि सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले जनताबीच सक्रिय अभियान सञ्चालन गर्ने हो भने एमाले बहुमतसहित सत्तामा फर्कने विश्वास व्यक्त गरे।
“०८४ सालमा हामीले कम्तीमा एकल बहुमत ल्याउनुपर्छ। यदि हामी जनतामाझ सक्रिय भएर गयौं र सदस्य–समर्थक परिचालन गर्यौं भने बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन,” ओलीले भने।
उनले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेमा जोड दिँदै धाँधली गर्ने कुनै अवसर नहुने स्पष्ट पारे।
“हामी सरकारमा छौं, आउँदो निर्वाचनमा कसैले धाँधली गर्न सक्दैन। सरकारमै रहेर हामी धाँधली रोक्नेछौं। निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,” ओलीले दाबी गरे।
त्यसैगरी, उनले पार्टीका नेता–कार्यकर्तालाई यस्ता परिस्थितिलाई मध्यनजर राख्दै संगठन र जनताबीच अझ सशक्त रूपमा अघि बढ्न निर्देशनसमेत दिए।


Facebook Comment