सिन्धुलीमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते
काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–९ बेथाचौडी नजिक ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिहान करिब ६ बजेतिर बागमती प्रदेश ०१–००६८ ९६४४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ४६ वर्षीय भुवन भुजेल गम्भीर घाइते भएका थिए। उपचारका क्रममा बिहान ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सो घटनामा स्थानीय ६४ वर्षीय टेकप्रसाद दाहाल घाइते भएका छन्। टाउको र छातीमा चोट लागेका दाहाललाई बर्दिबासस्थित शुभ स्वस्तिक अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ।
बिराटनगरबाट काठमाडौंतर्फ गइरहेको ट्रक अनियन्त्रित भई सडक किनारमा रहेको लोकनाथ गौतमको घरमा आड लागेर कोल्टे परेको थियो। घरभित्रका मानिस सुरक्षित भए पनि गारोले थिचिँदा २० वटा कुखुरा मरेका छन्।
घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ र थप अनुसन्धान भइरहेको जनाएको छ।


Facebook Comment