मेस्सीको जादु : अन्तिम घरेलु छनोट खेलमा दुई गोल, इतिहास रचेर अविस्मरणीय बिदाइ
काठमाडौं । अर्जेन्टिनी फुटबलका महानायक लिओनल मेस्सीले आफ्नो अन्तिम घरेलु विश्वकप छनोट खेललाई अविस्मरणीय बनाउँदै समर्थकलाई भावनात्मक बिदाइ दिएका छन्। शुक्रबार बिहान सम्पन्न खेलमा उनले दुई उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई भेनेजुएलाविरुद्ध ३–० को शानदार जित दिलाए।
घरेलु मैदानमा मेस्सीको यो अन्तिम विश्वकप छनोट खेल हेर्न हजारौँ दर्शकको उपस्थितिले स्टेडियम भरिभराउ थियो। खेलपश्चात् समर्थकहरूलाई सम्बोधन गर्दै मेस्सीले भने, “यसरी यहाँ अन्तिमपटक खेल्न पाउनु मेरो जीवनभरको सपना थियो। यो मैदानले मलाई अनगिन्ती क्षणहरू दिएको छ, राम्रा पनि र नराम्रा पनि। तर आफ्नै समर्थकहरूको सामु खेल्नु हरेकचोटि ठूलो खुसी हो।”
खेलमा उनले ३९औँ र ८०औँ मिनेटमा गोल गरे। यससँगै मेस्सी दक्षिण अमेरिकी विश्वकप छनोटको इतिहासमै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। उनले आफ्नो गोल संख्या ३६ पुर्याएका छन्।
भविष्य र आगामी विश्वकपबारे बोल्दै मेस्सीले भने, “म अझै उत्साहित छु। दिनहुँ मैदानमा नयाँ अनुभव गरिरहेको छु। शरीरले साथ दिएसम्म खेलिरहनेछु, नभए त्यहाँ हुनु आवश्यक छैन। विश्वकप सुरु हुन अझ नौ महिना बाँकी छ, जुन लामो समय हो।”
मेस्सीको यस भावनात्मक प्रदर्शनले उनका समर्थकहरूलाई आगामी विश्वकपको लागि आशावादी बनाएको छ। उनको यो ऐतिहासिक प्रदर्शनले फुटबल जगतमा उनको अतुलनीय योगदानलाई थप प्रमाणित गरेको छ।


Facebook Comment