सरकारले बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये आठ कम्पनी सम्पर्कमा
काठमाडौं । सरकारले बन्द गर्ने निर्देशन दिएका २६ वटा सामाजिक सञ्जालमध्ये आठवटा कम्पनीले सरकारसँग सम्पर्क गरेको छ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेर बन्दका लागि प्रक्रिया अघि बढाएको थियो। तीमध्ये केही सामाजिक सञ्जालका सञ्चालकहरूले सरकारसँग सम्पर्क गरी सूचीकरणका आवश्यक कागजातबारे जानकारी लिएका छन्।
नेपाल केन्द्रित सञ्चालक हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया सुरु गरी निष्क्रिय हुनबाट जोगिएको छ। त्यसलगत्तै मेटा (फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्स) ले पनि अनौपचारिक रूपमा सम्पर्क गरी सूचीकरण प्रक्रिया बुझेको मन्त्रालयले जनाएको छ।
सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरका अनुसार शुक्रबार ट्विटर (एक्स) ले आधिकारिक रूपमा सम्पर्क गरेको छ भने चिनियाँ सामाजिक सञ्जाल वी च्याट पनि सूचीकरण प्रक्रियाबारे जानकारी माग्दै सरकारसँग सम्पर्कमा आएको छ।
तर, बन्द गर्न निर्देशन दिइएका सामाजिक सञ्जालमध्ये युट्युब, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लबहाउस, मास्टोडन, रम्बल, मी वी, मी भिके, लाइन, इमो, जालो र सोल अझै सम्पर्कमा आएका छैनन्।
विशेषगरी युट्युब र लिंक्डइन अत्यधिक प्रयोग हुने सामाजिक सञ्जाल हुन् भने स्न्यापच्याट, क्लबहाउस र इमो सामान्य प्रयोगमा रहेका छन्। बाँकी प्लेटफर्महरू धेरै प्रयोगमा छैनन्।


Facebook Comment