प्रधानमन्त्री ओलीको दाबी: लिपुलेक सीमा समाधान भारतसँगै खोजिने
काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक सीमाको विवाद भारतसँग वार्ता गरेर समाधान गर्ने आफ्नो स्पष्ट अडान पुनः अघि सारेका छन्।
दोस्रो विधान महाधिवेशनको उद्घाटन समारोहमा स्वागत भाषण गर्दै प्रधानमन्त्री ओलीले लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेको विषयमा आफूले स्पष्ट असहमति जनाएको बताए। उनले भने, “शाङ्घाई सहयोग संगठनको शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङसँग भएको भेटवार्तामा मैले भारतसँग चीनले गरेको व्यापारिक सम्झौताप्रति आफ्नो असहमति प्रकट गरेँ। त्यसको अडियो र भिडियो सबैमा उपलब्ध छ।”
प्रधानमन्त्री ओलीले आगामी भारत भ्रमणको सन्दर्भमा लिपुलेक सीमा समाधानका प्रयास भारतसँगै गरिने जानकारी दिए। “असलमा लिपुलेकबारे तेस्रो देशसँग वार्ता गर्न आवश्यक थिएन, तर चीनले भाटरसँग व्यापार गर्ने सम्झौतामा हस्ताक्षर गरेकाले मैले त्यहाँ कुरा राख्नुपर्यो,” उनले स्पष्ट पारे।

साथै, उनले राष्ट्रिय हितको प्रश्नमा आफ्नो कदमको गलत व्याख्या गर्नेहरूप्रति पनि जवाफ दिएका छन्। “हाम्रो देशको सीमा समस्या विश्वसामु देखिने र सुनिने गरी राखिनुपर्छ। त्यस मान्यतामा मैले चीनका राष्ट्रपति समक्ष कुरा राखेँ,” उनले भने।
प्रधानमन्त्री ओलीका अनुसार चीनका राष्ट्रपति सी चिनफिङले जवाफमा नेपालको सार्वभौम सत्ता र सीमासम्बन्धी विषयलाई नेपाल–भारतबीच कुटनीतिक वार्ताबाट समाधान गर्न सधैं समर्थन रहने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले अन्ततः पार्टी कार्यकर्तालाई ढुक्क रहन र एमालेलाई अझ सुदृढ बनाउन अग्रसर हुन निर्देशन दिएका छन्।


Facebook Comment