बाढीपहिरोले १२ राजमार्ग पूर्ण अवरुद्ध, १६० राजमार्ग आंशिक सञ्चालनमा

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका छन्। सडक विभागका अनुसार विभिन्न भौगोलिक क्षेत्रका प्रमुख राजमार्गमा आवागमन ठप्प बनेको छ।

ठोरी–भण्डारा–मलेखु र गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड बन्द भएका छन्। यस्तै, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि पूर्ण रूपमा अवरुद्ध छ।

पूर्वतर्फ रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले सडक तथा लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथांका (कोशी राजमार्ग) अवरुद्ध भएको विभागले जनाएको छ। वरुण नदीमा बनेको डाइभर्सन बगाएपछि चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) समेत बन्द भएको छ।

छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर), कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि पूर्ण रूपमा अवरुद्ध छन्।

यस्तै, सडक निर्माण कार्य चलिरहेका कारण काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) समेत बन्द भएको विभागले जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले अवरुद्ध भएका राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन डोजर र जनशक्ति परिचालन गरिएको बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *