जलवायु परिवर्तन र प्रदूषणको चपेटामा नेपालका हिमाल, जीवन जोखिममा
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको हिमाल औसतभन्दा दुई गुणा बढीको गतिमा तातिरहेकोले हिमताल, जैविक विविधता र करोडौं मानिसको जीवन जोखिममा परेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित दक्षिण एशियाली क्षेत्रीय संवादमा बोल्दै मन्त्री ठकुरीले दक्षिण एशियामा खुला रूपमा फोहोर जलाउने प्रचलनको अन्त्यका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याए। उनले खुला रूपमा फोहोर जलाउने कार्य जलवायु सङ्कट र प्रदूषणको एउटा प्रमुख, तर प्रायः बेवास्ता गरिएको पक्ष रहेको बताए।
मन्त्री ठकुरीले भने, “हामी जलवायुजन्य विपत्ति र उच्च प्रदूषणको जोखिममा छौं। खुला रूपमा फोहोर जलाउने प्रचलन यो सङ्कटको एउटा महत्त्वपूर्ण, तर प्रायः बेवास्ता गरिएको हिस्सा हो।”
उनले पेरिस सम्झौता अन्तर्गत नेपालले कार्बन उत्सर्जन घटाउने, नवीकरणीय ऊर्जाको विस्तार गर्ने, विद्युतीय यातायातलाई बढावा दिने र दिगो वन व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै यी लक्ष्यहरू प्राप्तिका लागि खुला रूपमा फोहोर जलाउने कार्यको अन्त्य अपरिहार्य रहेको दोहोर्याए।
“यसले हाम्रो सहर र गाउँको वायु प्रदूषण बढाउनुका साथै ‘ब्ल्याक कार्बन’ जस्ता छोटो समयका प्रदूषकहरू उत्सर्जन गरी हिमालमा हिउँ पग्लिने गतिलाई पनि तीव्र बनाइरहेको छ,” उनले थपे, “नेपालको सन्दर्भमा यो विषय झनै गम्भीर छ, किनकि हाम्रो हिमाल औसतभन्दा दोब्बरको गतिमा तातिरहेको छ।”
मन्त्री ठकुरीले नेपालले शून्य फोहोर र चक्रीय अर्थतन्त्रको सिद्धान्तलाई अगाडि बढाउँदै आएको दाबी गर्दै खुला रूपमा फोहोर जलाउने कुरा पारिस्थितिक प्रणाली सुधार र दिगो विकासका लागि पनि महत्त्वपूर्ण रहेको बताए।
Facebook Comment